काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टिममा नयाँ रोग फैलिएको छ । पछिल्लो समय सन्दिप लामिछानेले खेपी रहेको बलात्कार मुद्वा फैसला हुन नपाउदै आसिफ शेख विरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ ।
सोल्टीमोडको ह्यात प्लेसस होटलमा इन्टर्न गर्ने क्रममा चिनजानपछि १ जना किशोरीले आसिफले आफूसँग यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् ।
आइतबार साँझ एकाएक सामाजिक सञ्जालमा आसिफ शेखले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी वृत्त कालीमाटी लगायतमा निवेदन दिन तयार पारिएको कागजात सार्वजनिक भएको छ । तर निवेदनको विषयमा बुझ्दा प्रहरी वृत्त कालीमाटी प्रहरीले आफुहरुलाई कुनै पनि जानकारी नभएको जानकारी दिए ।
पीडित भनिएकी किशोरीले आफ्नो निवेदनमा आसिफसँग चिनजान भएपछि आसिफले गौशालास्थित होटल शिवम प्यालेसमा लगेर ‘अनुचित सहवास’ गर्न खोजेको आरोप लगाएकी छिन् ।
आसिफले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको भनेर दुईजना किशोरीले आरोप लगाएका छन् । कालिमाटीस्थित महिला बालबालिका सेवा केन्द्रलाई सम्बोधन गरेर लेखिएको उक्त निवेदन उनीहरूले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका छन् ।
भदौ १५ र २३ गतेको फरक २ जना किशोरीहरूको नाममा लेखिएको निवेदन अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जाल मार्फत बाहिरीएको निवेदन हेर्दा ति किशोरीहरुले उजुरी दिन खोजिएको देखिन्छ ।



