काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिहरुलाई काठमाण्डौं बोलाएका छन् ।
श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्ने उद्देश्यले बैठक आयोजना गर्दै प्रधानमन्त्री प्रचण्डले राजदूत र नियोगका प्रतिनिधिहरुलाई काठमाण्डौं बोलाएका हुन् ।
सोमबार र मंगलबार चल्ने बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
दुई दिने बैठकमा श्रम आप्रवासनका सवालहरु र कूटनीतिक नियोगको भूमिकाका विषयमा छलफल हुनेछ र वैदेशिक श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम हुने सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको पहलमा पहिलो पटक हुन लागेको यसप्रकारको बैठकले सुरक्षित श्रम गन्तव्यको लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने विश्वास छ ।


