काठमाण्डौं । काठमाण्डौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भाइरल निमोनियाबाट भएको चिकित्सकले बताएका छन् ।
राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रिजालको आज (बिहीबार) बिहान ७ः३० बजे निधन भएको थियो ।
अस्पतालका मेडिकल डाइरेक्टर डा.विनोद बिजुक्छेले प्रेस विज्ञप्ति जारी गर्दै रिजालमा भाइरल निमोनिया रहेको जानकारी दिएका हुन् । भदौ १७ गते दिउँसो १ः०० बजे दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई सघन उपचार कक्षमा भर्ना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सुरुमा श्वासप्रश्वासको समस्या देखिए पनि पछि उनमा रगतको संक्रमण र मिर्गौलामा पनि असर परेको चिकित्सकहरुले बताएका छन् ।
वडाध्यक्ष रिजाल नेपाली काँग्रेस क्षेत्र नम्बर ७ का सभापति समेत हुन् ।




















