काठमाण्डौं । नेपाली सेना र अमेरिकाको सेनाबीचको संयुत्त अभ्यास नेपालमा हुने भएको छ । नियमित रुपमा संचालन हुँदै आएको जोइन्ट कम्बेन्ड एक्सचेन्ज ट्रेनिङको ४०औं संस्करण यही भाद्र २४ गतेदेखि असोज १२ गतेसम्म काठमाण्डौं उपत्यकामा हुन लागेको हो ।
तालिमका लागि अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्री सहित बिहीबार नेपाल आइसकेका छन् ।
नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ जना गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त तालिममामा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरुमा अनुभव तथा ज्ञान आदानप्रदान हुने जनाईएको छ ।
नेपाली सेना अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मंगोलिया, बंगलादेश, इजरायल लगायत देशहरुका सैन्य संगठनहरुसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरु लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरुमा सहभागी हुँदै आइरहेको छ ।


