काठमाण्डौं । डोल्पाको कुन्ख्येन फालक ताल विश्वकै अग्लो स्थानमा भएको दावी गर्न थालिएको छ । डोल्पोबुद्ध गाउँपालिका–६ फालगाउँमा अवस्थित उक्त ताल तिलिचोभन्दा बढी उचाइमा रहेको दाबी गरिएको हो ।
ताल निरीक्षण गरेपछि गाउँपालिकाका जनप्रतिनिधिहरूले कुन्ख्येन फालक ताल सबैभन्दा अग्लो स्थानमा रहेको दाबी गरेका हुन् । उनीहरूले डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेललाई तालको नापजाँच गर्न समेत आग्रह गरेका छन् ।
भदौ १६ गते शनिबार गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरूङ र वडा नम्बर ६ का वडाध्यक्ष नुर्बु डुम्डुल गुरूङसहित १७ जनाको टोली उक्त ताल निरीक्षण गरेका थिए ।
स्थानिय जेष्ठ नागरिकहरुले पहिलेदेखी नै उक्त स्थानमा ताल भएको भन्ने कुरा गरे पछि जिपिएस ट्र्याकरसहित उपाध्यक्षको टोली पुगेको थियो । त्यहाँ पुग्न फालगाउँबाट २० मिनेट मोटरसाइकल र २ घन्टा पैदल हिँड्नुपर्ने वडाध्यक्ष गुरूङले बताए।
जिपिएस ट्र्याकरबाट नाप्दा उक्त ताल ५ हजार १९० मिटर उचाइमा रहेको पाइएको थियो । त्यसपछि भने उनीहरूले उक्त ताल नेपालकै अग्लो स्थानमा रहेको दाबी गर्दै नापजाँचका लागि प्रशासनलाई आग्रह गरेका हुन् ।
नेपालकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल (मनाङ) समुद्री सतहबाट ४ हजार ९१९ मिटर माथि छ ।
दावी अनुसार कुन्ख्येन फालक तिलिचोभन्दा २७१ मिटर बढी अग्लो स्थानमा रहेको छ ।
तस्बिर ः नुर्बु डुम्डुल गुरूङ




















