जनकपुरधाम । कर्तव्य ज्यान मुद्दाका आरोपी मधेश प्रदेशका स्वतन्त्र प्रदेश सांसद अनिरुद्ध सिंह यादव आज पक्राउ परेका छन् । यादवलाई सोमबार दिउँसो करिब ३ बजे राजविराज नगरपालिका–७ बाट पक्राउ गरेको हो ।
रिताकुमारी चौधरीको जाहेरीले २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा गरेको आदेश अनुसार उनलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी प्रवीण पोखरेल । प्रदेश सांसद यादव सप्तरी क्षेत्र नं ४ (ख)बाट प्रत्यक्ष निर्वाचित छन् ।
यादवलाई सोमबार नै जिल्ला अदालत सप्तरीमा हाजिर गराइएको छ । २०६४ सालमा भएको एउटा हत्या घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी फरारको सूचीमा थिए ।
यादवकै निर्देशनमा तत्कालीन खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप थियो । तत्कालीन बोदेबर्साइन गाविस–४ बाट २०६४ असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस–५ वैरिया टोलमा पुर्याई गोली हानी चौधरीको हत्या भएको थियो ।


