पाल्पा । रिब्दिकोट गाउँपालिका–२ जोर्तेस्थित पाल्पा–गुल्मी सडक खण्डमा बुधबार भएको घटनामा परी प्रहरी सहित ३ जनाको ज्यान गएको छ । पाल्पा–गुल्मी सडक खण्डमा अचानक आएको पहिरोमा लु. १ ज ४६०० नम्बरको स्कारपियो गाडी पहिरोमा पुरिँदा त्यसमा सवार ३ जनाको घटनास्थलमै ज्यान गएको पाल्पा प्रहरीले पुष्टी गरेको हो ।
ज्यान गुमाउनेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका–७ भुजेलखर्क बस्ने ५० वर्षीय मनकला चुदारार, कास्की पोखरा महानगरपालिका–२४ हेम्जा बस्ने ३० वर्षीय बिनोद तिमिल्सिना र जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर बोहोरा रहेको पाल्पा प्रहरीले जानकारी दिएको छ ।
उक्त स्थानमा गुल्मीको तम्घासबाट बुटवलतर्फ आउँदै गरेको स्कारपियो गाडी अचानक आएको पहिरोमा पुरिएको थियो । घटनाको जानकारी पाएको प्रहरीले तत्कालै प्रहरी चौकी अर्गली र हार्थोकबाट प्रहरी घटना स्थल पुगी पहिरोमा पुरिएर घाइते भएका गाडीमा सवार अन्य ७ जनाको उद्दार गरी उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएको थियो ।
सामान्य घाइते भएका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


