गुल्मी । बालिकाको मृत्यु भएको विषयलाई गुल्मी अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको छ । कुटपिटपछि गुल्मी अस्पतालमा अत्यावश्यक बाहेकका सवै सेवा बन्द गरिएको छ ।
मंगलबार बिहान छत्रदेव गाउँपालिका–७ कि ७ वर्षकी बालिका प्रशंसा मरासिनीको मृत्यु भएपछि उनका आफन्तहरुले अस्पताल प्रमुख डा.राजेन्द्र जिसीमाथि हातपात गरेको थिए । त्यस अघि बिरामीका आफन्तले उपचारमा लापरबाही भएको भन्दै प्रदर्शन गरेका थिए ।
उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अपमानजनक व्यवहार गरेको भन्दै अस्पतालमा कार्यरत स्वासथ्यकर्मीहरुले अत्यावश्यक बाहेकका सबै सेवा बन्दा गराएका हुन् ।
कर्मचारीहरुले विज्ञप्तिमा जारी गर्दै ‘यस्ता किसिमका गतिविधिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी असुरक्षित भई नियमित स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण नभएकाले दोषीलाई कारबाही तथा सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्मको लागि अति आवश्यक (आकस्मिक) बाहेकका अन्य सेवा बन्द गरिएको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँदै यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति अस्पतालका सम्पूर्ण कर्मचारी क्षमाप्रार्थी छौं’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बालिकाको मृत्यु पश्चात उत्पन्न समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको कार्यकक्षमा अस्पताल प्रशासन, पीडितका आफन्तबीच छलफल भइरहेको छ ।


