धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान तथा आसपासका क्षेत्रमा २४ घन्टे निषेधाज्ञा जारी गरेको छ । शुक्रबार एक आदेश पत्र जारी गर्दै धरान उपमहानगर क्षेत्रमा ८ भदौ राति १२ बजेदेखि ९ भदौ राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।
डेंगु संक्रमण तीव्र रूपमा फैलिरहेकाले प्रशासनले संक्रमण नियन्त्रणमा नआउन्जेल ‘जनस्वास्थ्य आपतकालीन अवस्था’ घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिससमेत गरेको छ ।
धरान उपमहानगरपालिका क्षेत्र धार्मिक–साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्तिसुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन, २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम निषेध आदेश दिएको पत्रमा उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्वारा हस्ताक्षरित पत्रअनुसार धरानको पश्चिममा बराहक्षेत्र १ मा पर्ने झन्डा चोकदेखि धरान क्षेत्र, पश्चिम–दक्षिण रामधुनी ६ बाट बराहक्षेत्र ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी २० तरहरा पानीपियादेखि उत्तर धरानक्षेत्र, पूर्वीतर्फ धरान ५ प्रवेश गर्ने केराबारीबाट धरानक्षेत्र र धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।



