बागलुङ । बागलुङमा नेपाल प्रहरीका सई ‘हत्या’ आरोपी आमाछोरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । भिमगिठेस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज वरिष्ठ सई उज्वल पौडेल हत्याका २ जना आरोपी आमाछोरालाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।
जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले बुधबार भएको थुनछेक बहसपछि बडिगाड गाउँपालिका–६ स्थित आशा होटल तथा खाजा घरका सञ्चालक ५१ वर्षीय आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । गत साउन ८ गते राति ११ बजे आमाछोरा मिलेर पौडेलको हत्या गरेको प्रहरीले दायर गरेको अभियो पत्रका दावी गरिएको थियो ।
खाजा खान गएका पौडेल रातिसम्म बसेपछि आशासँग भनभन भएको र त्यसपछि निर्घात कुटपिट गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ ।
पोस्टमार्टम रिपोर्टमा पनि शरीरभर नीलडाम र घाउ देखिएको तथा घाँटीमा कसिएको डाम देखिएको उल्लेख छ । पौडेलको घाँटीमा लगाएको सिक्री आशाले राखेको समेत भेटिएको थियो ।
निर्घात कुटेपछि घाँटी थिचेर मारेको आरोपीले बयान दिएको प्रहरी नायब उपरिक्षक मदन केसीले बताए । अदालतमा भने आमाछोराले फरक–फरक बयान दिएका छन् । अदालतको आदेशपछि आमाछोरा दुवैजना बुधबारै जिल्ला कारागार चलान भएका छन् ।


