काठमाण्डौं । काठमाण्डौबाट पोखराका लागि छुटेको बस धादिङको त्रिशूली नदीमा खस्दा कम्तीमा ८ जनाको ज्यान गएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको हाे ।
दुर्घटनास्थलबाट २४ जनाको उद्धार गरिएकाको मध्ये ८ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सन्तु जयसवालले बताए । घाइते १६ जनामध्ये १४ जनालाई स्थानिय अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाण्डौ पठाएको र २ जनाको भने स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको छ ।
ज्यान गुमाउनेमध्ये २ जना महिला र ६ जना पुरुष हुन् । मृक्तकको अहिलेसम्म पनि पहिचान खुल्न सकेको छैन । गाडीमा कति यात्रु थिए भन्ने कुरा पनि खुल्न नसकेको प्रनाउ जयसवाले जानकारी दिए । उनका अनुसार गाडीका चालक तथा सहचालकको अवस्था पनि हालसम्म थाहा हुन सकेको छैन ।




















