एजेन्सी । डेनमार्क र नेदरल्याण्डले युक्रेनलाई लडाकु जहाज दिने भएका छन् । दुई देशले अमेरिकी निर्माण कम्पनीका एफ-१६ लडाकु जहाज युक्रेनलाई हस्तान्तरण गर्न लागेका हुन् । त्यसको लागि अमेरिकाले स्वीकृति दिइसकेको छ ।
युक्रेनी पाइलटले ती जहाज चलाउने तालिम लिएपछि हस्तान्तरण गर्न लागेको बीबीसीले जनाएको छ । तर युक्रेनले रुसको हवाई विमानको सामना गर्नसक्ने गरी एफ-१६ को प्रयोग गर्न भने अझै महिनादिन लाग्नसक्ने बताइएको छ ।
यी जहाजको प्रयोगले युक्रेनले आफ्नो क्षमताको पूर्ण फाइदा लिन सक्ने अमेरिकी राज्य विभागका प्रवक्ताले बताए । रुसकाे आक्रमणबाट आफ्नाे रक्षा गर्न युक्रेनले अघिल्लो वर्षदेखि नै आफ्ना मित्र राष्ट्रसँग लडाकु विमान सहयाेग गर्न आग्रह गर्दै आएकाे थियाे ।
नेदरल्यान्डसँग २४ वटा एफ-१६ जहाज रहेको अनुमान गरिएको छ । ती जहाजको ठाउँमा नयाँ युद्ध विमान ल्याउने उसको योजना छ । यस्तै, डेनमार्क पनि आफ्ना ३० वटा एफ-१६ विमानको स्तरवृद्धि गर्ने योजना बनाइरहेको छ ।
सन् २०२२ को फेब्रुअरीदेखि युक्रेन र रुसबीच छेडिएको युद्ध अहिलेसम्म चलिरहेको छ । आणविक हतियारले सम्पन्न रुससँगको डरले अमेरिका र यसका सहयोगीले यसअघि युक्रेनलाई यी जहाज हस्तान्तरण गर्न अस्वीकार गरेका थिए । तर निरन्तरको वार्तापछि यो निर्णय भएको हो ।
नेदरल्यान्डका विदेशमन्त्री विप्के होइक्स्ट्राले अमेरिकाको निर्णयको स्वागत गरेका छन् । उनले युक्रेनलाई आफ्ना नागरिकको सुरक्षा गर्न निकै हदसम्म राहत पुग्ने बताएका छन् ।
यस्तै, डेनमार्कका रक्षामन्त्री ज्याकोब इलेमान जेनसोनले पनि निर्णयप्रति सहमति जनाउँदै नजिकका सहयोगी राष्ट्रसँग छलफल गरिरहेको बताए । यता युक्रेनका रक्षामन्त्री वलेक्सी रेज्निकोभले अमेरिकाको निर्णय ‘ठूलो समाचार’ भएको बताएका छन् ।


