काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि प्रहरीले थप २ जना चिनिया नागरिकलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो ।
प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतका अनुसार पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको छ । प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । दुवै जनालाई काठमाण्डौंबाटै पक्राउ गरिएको हो ।
यसअघि बुधबार, साउन ३१ गते मात्रै सीआईबीको टोलीले ४ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ परेकामाथि अवैध सुन ओसारपसार तथा सङ्गठित अपराधअन्तर्गत अनुसन्धान भइरहेको जनाएको छ ।
सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २३ जना पुगेको छ ।


