साँकेतिक तस्बिर
तिलक पाैडेल
म स्याङ्जा, आँधीखोलाको मान्छे ! हरेलो गर्ने दिन, बुवाले बिहानी गोठेधन्दा सकाएर घाँस काटेर फर्कंदा घाँसको भारीमाथि एउटा ठूलो कडुज (कटुस) को डालो पनि लिएर आउनु हुन्थ्यो । आमाले घरमा चामल पिनेर ‘गोरु रोटो’ र ‘वावर रोटी’ – पिठोलाई पानीमा रयालेर तेलको ताईमा पिठो छर्केर बनाइने स-साना रोटीहरू, तयार पार्नुहुन्थ्यो । हामीलाई राम्रो मकैको घोगालाई नङ्ग्याएर एकनासका भुत्ला (खोस्टा) बनाउन लगाउनु हुन्थ्यो । हामीले आमाले दिएको नापो अनुसारका १५/२० वटा खोस्टा तयार पार्दथ्यौँ ।
‘लौ अब हातमा चोट नलगाई खुर्मली (साना आँसी) ले ढिकीको, दैलाठेलाको, जाँताका हातोको, मइनखाँबो (घरको मुख्य खाँबो) को, हलाको काठ खुर्केर एकन्चिम्टि एउटा केराको पातमा जम्मा पार त ! हलाको बाबुले ल्याउनु नि ! छोरीमान्छेले हलो छुन हुँदैन के …!’ भनेर अह्राउनु
हुन्थ्यो । सबै भाइबैनी मिलेर सबैको थोरै-थोरै खुर्केर ल्याउँदा बुवाले ठ्याक्क केराको पात लिएर आएको हुनुहुन्थ्यो । हामीले पिँढीमा केराका पातमा काठहरू खुर्केको धुलो जम्मा गर्दथ्यौँ । बुवाले ‘अब उ… ढिकीका पछाडिबाट एकँजुली भुस ल्याएर मिसओ’ भनेर हामीलाई भन्दै भित्र आमालाई ‘खै अलि-अलि सबै अन्न पनि मिसाउनु परेन त नि !’ भन्दा आमाले धान, कोदो, मकै, जौ, गहुँ … का एकन्चिम्टि ल्याएर त्यसैमा मिसाइदिएर एउटा खोस्टामा सबै मिलाएको चिजको पोको (नमुना) बनाइदिनु हुन्थ्यो । ‘ठूला घोगा मकै नहुने ठाउँतिर यस्ता पोकालाई वावियाका हत्यौरीले बाँध्ने गर्चन्, हामीकाँ त सप्रेका मकै हुने हुँदा यी यसरी भुत्लाको फुर्को लामो हुने गरी १५/२० वटा पोका पार अनि दुईटा पोकाका फुर्का जोडेर झुण्ड्याउन मिल्ने बनाऊ है त !’ भनेर निर्देशन गर्नुहुन्थ्यो । हामीहरू फुरुङ्ङ हुँदै त्यो काममा लागी पर्दथ्यौँ ।
बुवाले आफूले ल्याएको कटुसको सानो थाँक्रोलाई तलतिर तिखारेर हाँगाका २/४ मुन्टा काटेर तिका बनाउनु हुन्थ्यो । हामीले स्कुलमा सरले सिकाएको व्यहोराभन्दा पनि रसिकसित नियाल्दथ्यौँ । ‘मैले सक्न छाडेपछि छोराहरूले त हो नि यो सबै गर्ने, अहिल्यैदेखि हेरेर सिकी राख…’ भन्दै सुकेका काठको दुई अङ्गुल चाक्लो पातोलाई छकुने हुने गरी ५/७ वटा टुक्रा बनाई खुर्मली आँसीको बिँड फुकालेर आरोलाई रातो बनाई बिच-बिचमा एकुन्टा प्वाल पार्नु हुन्थ्यो । संस्कारी धरोहर हस्तान्तरणको अचुक विधि ! त्यही बेलामा मैले एउटामा दुईटा प्वाल पारिदिएर घुर्रा बनाइदिन अनुरोध गर्दथेँ । बुवाले पनि अलि बाक्लो पातोलाई मिहिन पाराले मिलाइदिएर घुर्रा बनाइदिनुहुन्थ्यो । त्यो पाउँदाको मजा सायद जीवनमा कहिल्यै पाउन सकिन हुँला जस्तो लाग्दछ ।
बुवाले पुन: पञ्चस्नान गरी धोती फेरेर सानो डालीमा ती हामीले बनाएका पोकाका झुत्ताहरू, एउटा दुनामा घिउ; अर्को दुनामा रायो, सर्सिउँ; एक प्वाले घुर्रा; टपरीहरूमा फूलपाती, लावा र रोटीहरू; जौ, तिल, अक्षता राखिएको पूजा थाली; सानो करुवामा पानी मिलाएर राख्नुहुन्थ्यो । आमाले भजालोमा पुत्ताउँदै गरेको आगो र फिलिङ्गा भएको भुङ्ग्रो ल्याइदिएपछि बुवाले भजालोलाई एउटा हातले समाउँदै र कटुसको सानो थाँक्रो काँधमा राकेर मलाई ‘नुहाउने, जप गर्ने गर्यौ ? लौ यो डाली समाएर मसँग हिँड …’ भन्नुहुँदा बैनीहरूले आफू छोरी अनि साना भएकाले यो अवसरबाट वञ्चित भएझैँ लोभिला आँखाले हेर्दै हाम्रो बिदाइ गर्दथे ।
बुवाका पछि-पछि म डाली समाएर खलेगरामा पुगेको हुन्थेँ । मनमा पछि मैले पनि यो काम गर्नुपर्ने हुनाले बुवाले गरेका सबै कामहरू क्रमश: सम्झनु पर्दछ भन्ने विचार मडारिइरहेको हुन्थ्यो । बुवाले अघि घाँस काट्दा हरेलो गर्ने डिललाई सफा गरिसक्नु भएको हुन्थ्यो । हामी पुगेपछि मलाई ‘लौ डाली यता राख र तिमी बसेर हेर …’ भन्दै आफूले लगेको थाँक्रोलाई आलीमा गाड्नु हुन्थ्यो । म आलीको डिलमा बसेर नियाल्दथेँ । त्यसेको फेदमा सानो सम्म परेको ढुङ्गा राखी त्यसैमा भजालोको भुङ्ग्रो खन्याएर करुवाको पानी हातमा लिई उठेर थाँक्रोमाथि घुमाउनु हुन्थ्यो ।
के-के मन्त्र गुन्गुनाउँदै फूलपाती, अक्षताहरूले पूजा गरी भुङ्ग्रोमा रायो, सर्सिउँ पड्काउनु हुन्थ्यो । अनि थाँक्राका चोक-चोकमा पोकाका झुत्ताहरू झुण्ड्याई तिखारेका टुप्पामा एकप्वाले घुर्रा छिराइदिनु हुन्थ्यो । त्यसैबेला ‘यी घुर्रा भनेका डाइनी, बोक्सी, ऐँर-भँएरलाई हाम्रो खेतबारीमा पस्न नदिन ऐनाका रूपमा आएतिरै फर्काउन राखिएको हो भन्नु हुन्थ्यो तिम्रा हजुरबबाले, यो कतिपयले गर्दैनन्, झण्झट मान्दछन् …’ भन्नुहुन्थ्यो । मलाई पछि मैले नै गर्दा पनि यसै गरुला भन्ने प्रण गर्न मन लाग्दथ्यो । तर, अफसोच ! त्यो क्षण मेरा लागि यी यस्तै कल्पनामा मात्रै सीमित रहन पुग्यो । गाउँको त्यो स्वच्छ हावा, निर्मल पानी छाडेर खै किन हो ? आफैँलाई थाहा छैन, यो सहरीया प्रदूषित वातावरणमा तथाकथित पारिवारिक जञ्जालले उछार नदिएको भनेर साँघुरोमा रुमलिइरहेकोछु । जन्मस्थानका खेतबारी बाँझो छाडेर यहाँ छतमा कौसी खेतीमा रमाउँदैछु । मन मिल्दाहरूबिच नमुना वस्ती बसाउने कल्पनालाई एक्लै साकार रूप दिनै सकिन, हिम्मतिला साथीहरूको साथ जुटेन । सम्झेर ल्याउँदा साँच्चै दु:ख लागेर आउँछ ।
रोटीहरूको नैवेद्य चढाई लावा र फूलपाती वरिपरि छरेर पुन: जल हातमा लिई थाँक्रो वरिपरि घुमाउँदै ‘लौ सीमे, भुमे देउताहरू, गोठका भिउसिन ठाकुर, श्रीङ्गा नागदेउता, जानेनजानेका जलथलका सम्पूर्ण देवीदेउताहरूले रक्षा कल्याण गर्नुहोला, आवहानं नजानामी, नजानामी विसर्जनम्; पूजास्चैव नजानामी, क्षमस्य परमेश्वर ।
मन्त्रहीनं क्रियाहीनं, भक्तिहीनं सुरेश्वर; यत्पूजितम् मयादेव, परीपूर्ण: तदस्तुमे ।।’ भन्दै दायाँ साहिंली औलाले पहिला आफूलाई टीका लगाई मलाई पनि लगाइदिनुहुन्थ्यो । ‘मेरो बाबुलाई विद्या खुलेर आवोस्, हिँड्दा ठेस नलागोस्, बस्दा केश नझरोस्, आँटेताकेको पुगोस्, माटो समान अन्न र ढुङ्गो समान द्रव्य आर्जन सके …’ भनी दिएका आशिष सम्झँदा अहिले पनि मनमा भक्कानो परेर आउँछ ।
तदुपरान्त हामी घर फर्कन्थ्यौँ । बुवाले पोकाका झुत्ताहरूलाई काँक्रा, घिरौँला, लौका, करेला आदि झालपातका थाँक्रामा पनि झुण्ड्याइदिनु हुन्थ्यो । गोरुरोटो भाँचेर माले गोरुलाई खुवाउनु हुन्थ्यो र हाम्रो प्रतिक्षा गरेर पिँढीमा बसेका आमा बैनीहरूलाई टीका लगाई नैबेत र बैनीहरूलई एकुन्सुका पैसा दिनुहुन्थ्यो । त्यो बेला मलाई छोरो भएकाले पैसा नपाएकोमा पछुतो महसुस हुन्थ्यो ।
आमाले ‘यतिबेलासम्म सबै भोकाएऊ, लौ अब भान्सा गरौँ …’ भन्दै भित्र पस्नु हुन्थ्यो । बुवाले हामीहरूलाई ‘यो हरेलो भनेको खेतबारीमा रोपाइँ सकिएपछि गर्ने हो । यसपछि कतै रहेबँचेका फोगटाहरू बाँझै छाड्नु पर्दछ, त्यै भएर हिजो रातसाँझ गरेर भएपनि तिम्री आमाले र मैले सबै रोप्ने काम सकाएका हौँ । हरेलोलाई रोपाइँको न्वारन गरेको पनि भनिन्छ । आजसम्म रोपो थियो भने अब धान, कोदो भयो । हरेलो नगरिएको धानको अक्षता शुभकार्यहरूमा चल्दैन भन्ने मान्यता रहेकोछ । अब आज खेतमा गोडा हाल्न पनि हुँदैन भनेको कोहीपनि केहीपनि गर्न जानु हुँदैन । आज फुरौला खानुपर्दछ, भित्र आमाले बनाएकै होलिन् । दिउँसो निउवा साँधेर खाएपछि कटाहा – मुसाका दाँत कुडिन्छन् र तिनले धान खान सक्दैनन् भन्ने मान्यता रहेकोछ । आफैँ गर्ने हैसियत गुमाएर ठालुपल्टेकाहरूले हरेलो हलो जोत्ने हलीले गर्ने हो भनेर कतिपयले हलीबाटै गराउँछन् । तर हाम्रा भने तिमेर्का हजुरबाले गरेको देखेकाले मैले नै गर्ने गरेकोछु । म मरेपछि पनि बाबुहेर्ले नै गर्ने गर्नु …’ भन्नुहुन्थ्यो । बुवा ! हजुरको त्यो धोको स्थलगतरूपमा पूरा गर्न उल्लिखित परिस्थितिले साथ नदिँदा यसरी कल्पेर चित्त बुझाएकोछु । हजुरको बैकुण्ठवास हवोस् बुवा !!!
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#
२०८० साउन ३० गते मङ्गलबार
कीर्तिपुर-२, मध्यनगर, काठमाडौँ ।




















