×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

हरेलो पर्व यसरी मनाइन्थ्यो !

  •  गोरखा समाचार
  • बिहिबार, साउन ३२, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    साँकेतिक तस्बिर

    तिलक पाैडेल

    म स्याङ्जा, आँधीखोलाको मान्छे ! हरेलो गर्ने दिन, बुवाले बिहानी गोठेधन्दा सकाएर घाँस काटेर फर्कंदा घाँसको भारीमाथि एउटा ठूलो कडुज (कटुस) को डालो पनि लिएर आउनु हुन्थ्यो । आमाले घरमा चामल पिनेर ‘गोरु रोटो’ र ‘वावर रोटी’ – पिठोलाई पानीमा रयालेर तेलको ताईमा पिठो छर्केर बनाइने स-साना रोटीहरू, तयार पार्नुहुन्थ्यो । हामीलाई राम्रो मकैको घोगालाई नङ्ग्याएर एकनासका भुत्ला (खोस्टा) बनाउन लगाउनु हुन्थ्यो । हामीले आमाले दिएको नापो अनुसारका १५/२० वटा खोस्टा तयार पार्दथ्यौँ ।

    ‘लौ अब हातमा चोट नलगाई खुर्मली (साना आँसी) ले ढिकीको, दैलाठेलाको, जाँताका हातोको, मइनखाँबो (घरको मुख्य खाँबो) को, हलाको काठ खुर्केर एकन्चिम्टि एउटा केराको पातमा जम्मा पार त ! हलाको बाबुले ल्याउनु नि ! छोरीमान्छेले हलो छुन हुँदैन के …!’ भनेर अह्राउनु हुन्थ्यो । सबै भाइबैनी मिलेर सबैको थोरै-थोरै खुर्केर ल्याउँदा बुवाले ठ्याक्क केराको पात लिएर आएको हुनुहुन्थ्यो । हामीले पिँढीमा केराका पातमा काठहरू खुर्केको धुलो जम्मा गर्दथ्यौँ । बुवाले ‘अब उ… ढिकीका पछाडिबाट एकँजुली भुस ल्याएर मिसओ’ भनेर हामीलाई भन्दै भित्र आमालाई ‘खै अलि-अलि सबै अन्न पनि मिसाउनु परेन त नि !’ भन्दा आमाले धान, कोदो, मकै, जौ, गहुँ … का एकन्चिम्टि ल्याएर त्यसैमा मिसाइदिएर एउटा खोस्टामा सबै मिलाएको चिजको पोको (नमुना) बनाइदिनु हुन्थ्यो । ‘ठूला घोगा मकै नहुने ठाउँतिर यस्ता पोकालाई वावियाका हत्यौरीले बाँध्ने गर्चन्, हामीकाँ त सप्रेका मकै हुने हुँदा यी यसरी भुत्लाको फुर्को लामो हुने गरी १५/२० वटा पोका पार अनि दुईटा पोकाका फुर्का जोडेर झुण्ड्याउन मिल्ने बनाऊ है त !’ भनेर निर्देशन गर्नुहुन्थ्यो । हामीहरू फुरुङ्ङ हुँदै त्यो काममा लागी पर्दथ्यौँ ।

    बुवाले आफूले ल्याएको कटुसको सानो थाँक्रोलाई तलतिर तिखारेर हाँगाका २/४ मुन्टा काटेर तिका बनाउनु हुन्थ्यो । हामीले स्कुलमा सरले सिकाएको व्यहोराभन्दा पनि रसिकसित नियाल्दथ्यौँ । ‘मैले सक्न छाडेपछि छोराहरूले त हो नि यो सबै गर्ने, अहिल्यैदेखि हेरेर सिकी राख…’ भन्दै सुकेका काठको दुई अङ्गुल चाक्लो पातोलाई छकुने हुने गरी ५/७ वटा टुक्रा बनाई खुर्मली आँसीको बिँड फुकालेर आरोलाई रातो बनाई बिच-बिचमा एकुन्टा प्वाल पार्नु हुन्थ्यो । संस्कारी धरोहर हस्तान्तरणको अचुक विधि ! त्यही बेलामा मैले एउटामा दुईटा प्वाल पारिदिएर घुर्रा बनाइदिन अनुरोध गर्दथेँ । बुवाले पनि अलि बाक्लो पातोलाई मिहिन पाराले मिलाइदिएर घुर्रा बनाइदिनुहुन्थ्यो । त्यो पाउँदाको मजा सायद जीवनमा कहिल्यै पाउन सकिन हुँला जस्तो लाग्दछ ।

    बुवाले पुन: पञ्चस्नान गरी धोती फेरेर सानो डालीमा ती हामीले बनाएका पोकाका झुत्ताहरू, एउटा दुनामा घिउ; अर्को दुनामा रायो, सर्सिउँ; एक प्वाले घुर्रा; टपरीहरूमा फूलपाती, लावा र रोटीहरू; जौ, तिल, अक्षता राखिएको पूजा थाली; सानो करुवामा पानी मिलाएर राख्नुहुन्थ्यो । आमाले भजालोमा पुत्ताउँदै गरेको आगो र फिलिङ्गा भएको भुङ्ग्रो ल्याइदिएपछि बुवाले भजालोलाई एउटा हातले समाउँदै र कटुसको सानो थाँक्रो काँधमा राकेर मलाई ‘नुहाउने, जप गर्ने गर्‍यौ ? लौ यो डाली समाएर मसँग हिँड …’ भन्नुहुँदा बैनीहरूले आफू छोरी अनि साना भएकाले यो अवसरबाट वञ्चित भएझैँ लोभिला आँखाले हेर्दै हाम्रो बिदाइ गर्दथे ।

    बुवाका पछि-पछि म डाली समाएर खलेगरामा पुगेको हुन्थेँ । मनमा पछि मैले पनि यो काम गर्नुपर्ने हुनाले बुवाले गरेका सबै कामहरू क्रमश: सम्झनु पर्दछ भन्ने विचार मडारिइरहेको हुन्थ्यो । बुवाले अघि घाँस काट्दा हरेलो गर्ने डिललाई सफा गरिसक्नु भएको हुन्थ्यो । हामी पुगेपछि मलाई ‘लौ डाली यता राख र तिमी बसेर हेर …’ भन्दै आफूले लगेको थाँक्रोलाई आलीमा गाड्नु हुन्थ्यो । म आलीको डिलमा बसेर नियाल्दथेँ । त्यसेको फेदमा सानो सम्म परेको ढुङ्गा राखी त्यसैमा भजालोको भुङ्ग्रो खन्याएर करुवाको पानी हातमा लिई उठेर थाँक्रोमाथि घुमाउनु हुन्थ्यो ।

    के-के मन्त्र गुन्गुनाउँदै फूलपाती, अक्षताहरूले पूजा गरी भुङ्ग्रोमा रायो, सर्सिउँ पड्काउनु हुन्थ्यो । अनि थाँक्राका चोक-चोकमा पोकाका झुत्ताहरू झुण्ड्याई तिखारेका टुप्पामा एकप्वाले घुर्रा छिराइदिनु हुन्थ्यो । त्यसैबेला ‘यी घुर्रा भनेका डाइनी, बोक्सी, ऐँर-भँएरलाई हाम्रो खेतबारीमा पस्न नदिन ऐनाका रूपमा आएतिरै फर्काउन राखिएको हो भन्नु हुन्थ्यो तिम्रा हजुरबबाले, यो कतिपयले गर्दैनन्, झण्झट मान्दछन् …’ भन्नुहुन्थ्यो । मलाई पछि मैले नै गर्दा पनि यसै गरुला भन्ने प्रण गर्न मन लाग्दथ्यो । तर, अफसोच ! त्यो क्षण मेरा लागि यी यस्तै कल्पनामा मात्रै सीमित रहन पुग्यो । गाउँको त्यो स्वच्छ हावा, निर्मल पानी छाडेर खै किन हो ? आफैँलाई थाहा छैन, यो सहरीया प्रदूषित वातावरणमा तथाकथित पारिवारिक जञ्जालले उछार नदिएको भनेर साँघुरोमा रुमलिइरहेकोछु । जन्मस्थानका खेतबारी बाँझो छाडेर यहाँ छतमा कौसी खेतीमा रमाउँदैछु । मन मिल्दाहरूबिच नमुना वस्ती बसाउने कल्पनालाई एक्लै साकार रूप दिनै सकिन, हिम्मतिला साथीहरूको साथ जुटेन । सम्झेर ल्याउँदा साँच्चै दु:ख लागेर आउँछ ।

    रोटीहरूको नैवेद्य चढाई लावा र फूलपाती वरिपरि छरेर पुन: जल हातमा लिई थाँक्रो वरिपरि घुमाउँदै ‘लौ सीमे, भुमे देउताहरू, गोठका भिउसिन ठाकुर, श्रीङ्गा नागदेउता, जानेनजानेका जलथलका सम्पूर्ण देवीदेउताहरूले रक्षा कल्याण गर्नुहोला, आवहानं नजानामी, नजानामी विसर्जनम्; पूजास्चैव नजानामी, क्षमस्य परमेश्वर ।

    मन्त्रहीनं क्रियाहीनं, भक्तिहीनं सुरेश्वर; यत्पूजितम् मयादेव, परीपूर्ण: तदस्तुमे ।।’ भन्दै दायाँ साहिंली औलाले पहिला आफूलाई टीका लगाई मलाई पनि लगाइदिनुहुन्थ्यो । ‘मेरो बाबुलाई विद्या खुलेर आवोस्, हिँड्दा ठेस नलागोस्, बस्दा केश नझरोस्, आँटेताकेको पुगोस्, माटो समान अन्न र ढुङ्गो समान द्रव्य आर्जन सके …’ भनी दिएका आशिष सम्झँदा अहिले पनि मनमा भक्कानो परेर आउँछ ।

    तदुपरान्त हामी घर फर्कन्थ्यौँ । बुवाले पोकाका झुत्ताहरूलाई काँक्रा, घिरौँला, लौका, करेला आदि झालपातका थाँक्रामा पनि झुण्ड्याइदिनु हुन्थ्यो । गोरुरोटो भाँचेर माले गोरुलाई खुवाउनु हुन्थ्यो र हाम्रो प्रतिक्षा गरेर पिँढीमा बसेका आमा बैनीहरूलाई टीका लगाई नैबेत र बैनीहरूलई एकुन्सुका पैसा दिनुहुन्थ्यो । त्यो बेला मलाई छोरो भएकाले पैसा नपाएकोमा पछुतो महसुस हुन्थ्यो ।

    आमाले ‘यतिबेलासम्म सबै भोकाएऊ, लौ अब भान्सा गरौँ …’ भन्दै भित्र पस्नु हुन्थ्यो । बुवाले हामीहरूलाई ‘यो हरेलो भनेको खेतबारीमा रोपाइँ सकिएपछि गर्ने हो । यसपछि कतै रहेबँचेका फोगटाहरू बाँझै छाड्नु पर्दछ, त्यै भएर हिजो रातसाँझ गरेर भएपनि तिम्री आमाले र मैले सबै रोप्ने काम सकाएका हौँ । हरेलोलाई रोपाइँको न्वारन गरेको पनि भनिन्छ । आजसम्म रोपो थियो भने अब धान, कोदो भयो । हरेलो नगरिएको धानको अक्षता शुभकार्यहरूमा चल्दैन भन्ने मान्यता रहेकोछ । अब आज खेतमा गोडा हाल्न पनि हुँदैन भनेको कोहीपनि केहीपनि गर्न जानु हुँदैन । आज फुरौला खानुपर्दछ, भित्र आमाले बनाएकै होलिन् । दिउँसो निउवा साँधेर खाएपछि कटाहा – मुसाका दाँत कुडिन्छन् र तिनले धान खान सक्दैनन् भन्ने मान्यता रहेकोछ । आफैँ गर्ने हैसियत गुमाएर ठालुपल्टेकाहरूले हरेलो हलो जोत्ने हलीले गर्ने हो भनेर कतिपयले हलीबाटै गराउँछन् । तर हाम्रा भने तिमेर्का हजुरबाले गरेको देखेकाले मैले नै गर्ने गरेकोछु । म मरेपछि पनि बाबुहेर्ले नै गर्ने गर्नु …’ भन्नुहुन्थ्यो । बुवा ! हजुरको त्यो धोको स्थलगतरूपमा पूरा गर्न उल्लिखित परिस्थितिले साथ नदिँदा यसरी कल्पेर चित्त बुझाएकोछु । हजुरको बैकुण्ठवास हवोस् बुवा !!!

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#
    २०८० साउन ३० गते मङ्गलबार
    कीर्तिपुर-२, मध्यनगर, काठमाडौँ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, साउन ३२, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.