फाईल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मा पक्राउ परेका छन् । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद डा.शर्माले एमबीबीएस पढ्दा पेश गरेको आईएस्सीको प्रमाणपत्र शंकास्पद रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार नियन्त्रणमा लिएको हो ।
सीआईबीले शर्मालाई बिहान ११ बजेतिर गोल्फुटारस्थित घरबाट नियन्त्रणमा लिएका थियो । साँदर शर्मा पक्राउ परेको बारेमा सभामुखलाई अपराह्न जानकारी गराएको थियो ।
संविधानको धारा १०३ मा सांसद पक्राउसम्बन्धी व्यवस्था छ, जसअनुसार अधिवेशन चलेको बेला फौजदारी अभियोगमाबाहेक अरुमा संघीय सांसदलाई पक्राउ गर्न नपाउने उल्लेख छ । फौजदारी अभियोगमा पक्राउ गरे त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने भनिएको छ ।
शर्माको दल कांग्रेसले भने औपचारिक रुपमा केही बोलेको छैन । बिहीबार अपराह्न बसेको संसदीय दल कार्यसमिति बैठकमा शर्माको पक्राउबारे छलफल भने भएको थियो । पार्टीका सांसद शर्मालाई पक्राउ गर्नुको कारणबारे बुझ्ने काम भइरहेको नेपाली कांग्रेसले जनाएको छ ।
कांग्रेसकै कतिपय नेताहरु भने सांसद शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेकै कारण प्रतिशोध साँध्न पक्राउ गरिएको आशंका गरिरहेका छन् ।




















