गोरखा । गोरखाको धार्चे गाउँपालिका–७ स्थित लापुबेशीमा ब्यवसायिक ‘ड्रागन फ्रुट’ खेती गरिएको छ । करिब ७ रोपनी क्षेत्रफलमा गरिएको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी हुन थालेको धार्चे ड्रागन फ्रुटका सञ्चालक सोम गुरुङले जानकारी दिए । ‘पहिलो बर्ष एक लाख रुपैया बराबरको ड्रागन फ्रुट बेचेको थिए’ उनले भने ‘यो बर्ष ३ लाख रुपैयाको फल बिक्री भईसक्यो, अझै ४ लाख भन्दाबढी आम्दानी हुने अनुमान गरेको छु ।’
ड्रागन खेती सुरु गरेको १३ महिनामा पहिलो पटक उत्पादन भई फल बिक्री सुरु गरेको गुरुङले जानकारी दिए । २०७७ साल चैत्र महिनामा बुढीगण्डकी नदी किनारमा पर्ने लापुबेशीमा लगाइएको उक्त खेतीले अहिले राम्रो उत्पादन दिन थालेको उनले बताए । पहिलो बर्ष अपेक्षा गरिए अनुसार उत्पादन नभएपनि यो बर्ष भने ड्रागन फ्रुटले मनग्य आम्दानी दिएको गुरुङको भनाई छ ।
विश्व चर्चित मनास्लु पदमार्गको छेवैमा लगाइएको ड्रागन फ्रुट यति बेला जताततै फुलेको देख्दा पदर्मागमा पुग्ने पर्यटकहरु समेत लोभिएर एकछिन उभिएरै भएपनि फार्मको अवलोकन गर्ने गरेको उनले बताए । फार्ममा उत्पादन गरिएको ड्रागन फ्रुट ५० प्रतिशत भने स्थानीय स्तरमा नै बिक्री हुने गरेको र बाँकी भने मागको आधारमा नजिकै रहेको आरुघाट बजार, गोरखा सदरमुकाम र राजधानी पठाउने गरिएको उनले जानकारी दिए ।
‘उत्पादित ड्रागन फ्रुट आधाजसो यहीँ नै बिक्री हुन्छ’ गुरुङले भने ‘बाँकी भने मागको आधारमा आरुघाट, गोरखा बजार र राजधानी पठाउने गरेको छु ।’ फार्ममा १ हजार ४०० बोट ड्रागन फ्रुट लगाइएको उहाँले बताउनुभयो । जसमध्ये ७ वटा बोट मात्र सेतो र बाँकी सबै रातो प्रजातिको ड्रागन फ्रुट लगाइएको गुरुङको भनाई छ ।
उत्पादित फल प्रतिकिलो ६०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । ‘एकदुई किलो लैजाने ग्राहकहरुलाई प्रतिकिलो ६०० रुपैया लिने गरेको छु’ उनले भने, ‘होलसेल मुल्यमा लैजानेलाई भने ५०० रुपैयाका दरले बिक्री गरिदै आएको छु ।’ समुन्द्री सतहबाट ८५० उचाईमा रहेको जमिनमा ड्रागन खेती गरिएको उनले बताए ।
सामान्यतया ड्रागन फुड १ हजार २०० मिटरसम्म पनि खेती गर्ने गरिएको गुरुङको भनाई छ । उनले ड्रागन खेतीबाट राम्रो आम्दानी गर्दै आएको भन्दै युवा पुस्ताहरुलाई विदेशिनु भन्दा व्यवसायिक रुपमा यहीँ खेती तर्फ लाग्न समेत सुझाव दिए । सुरुवाती चरणमा १३ लाख खर्चेर खेती सुरु गरेको बताउदै उनले अहिले गाउँपालिका र कृषि ज्ञान केन्द्रले ३-३ लाख गरी कुल ६ लाख अनुदान उपलब्ध गराएको जानकारी दिए ।
पछिल्लो पटक भने गाउँपालिकाले उक्त खेती भित्र मौरी परीक्षणका लागि पाल्न अनुदानमा उपलब्ध गराएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले बताईन । ड्रागन फार्मको उपाध्यक्ष गुरुङ नेतृत्वको गाउाँपालिकाको टोलीले अनुगमन समेत गरेको थियो ।
तस्बिर सौजन्य सुनिला गुरुङ उपाध्यक्ष धार्चे गाउँपालिका, गोरखा









