फाईल तस्बिर
गोरखा । जिल्ला भित्र आँखा पाक्ने रोगको संक्रमण फैलिएको एक तथ्यांकले देखाएको छ । सदरमुकाम स्थित गोरखा लायन्स आँखा सेवा केन्द्र गोरखामा साउन १५ गतेपछि उपचारका लागि आएका मध्ये ६३९ जनामा आँखा पाक्ने रोगको संक्रमण भएको पाइएको केन्द्रका प्रमुख खुमप्रसाद पराजुलीले जानकारी दिए ।
‘
अस्पतालमा साउन १५ गतेबाट यता अहिलेसम्म ८५९ जनाले आँखाको चेकजाँच गराएकोमा ६३९ जनामा आँखा पाक्ने समस्या देखिएको छ, उनले भने, ‘अधिकांस व्यक्ति आँखा पाक्ने समस्या लिएर अस्पताल आउन थालेका छन् । प्रमुख पराजुलीले गएको करिब १० दिनदेखि जिल्लामा संक्रमितको संख्या बढ्न थालेको पाइएको उनले बताए ।
‘अस्पतालमा आँखाको चेकजाँच गर्न आउने बिरामीहरु मध्ये १०० ना बिरामीहरु मघ्ये ९० जनामा आँखा पाक्ने समस्या देखिन थालेको छ, प्रमुख पराजुलीले भने, ‘आँखा पाक्ने समस्या १८ बर्ष मुनिका बालबालिकाहरुमा बढी भएको पाइएको छ ।’ पछिल्लो समय संक्रमण देखिएका मध्ये ४०३ जना बालबालिका र २३६ जना १८ बर्ष माथि उमेर समुहका व्यक्तिमा संक्रमण देखिएको उनले बताए ।
गोरखा नगरपालिका भित्र धेरै विद्यालयहरुमा आँखा पाक्ने रोगको संक्रमण देखिएको नगरपालिका शिक्षा शाखाका प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिए । अहिलेसम्म नगरपालिका भित्र १० वटा विद्यालयका बालबालिकाहरुमा संक्रमण फैलिएको उनले बताए ।
‘बिशेष गरी गोरखा सदरमुकाम आसपासका विद्याथीहरुमा आँखा पाक्ने रोग बढी देखिएको छ, प्रमुख खड्काले भने, ‘संक्रमण देखिएका विद्यालयका शिक्षक, विद्यार्थीमा नभएर अभिभावकहरुमा पनि आँखा संक्रमण देखिएको छ ।’ संक्रमण थप फैलिदै गए व्यवस्थापन समिति, शिक्षक र अभिभावकको राय सल्लाह अनुसार बिद्यालय बन्द गर्न सकिने खड्काको भनाई छ ।
चिकित्सकिय भाषामा आँखा पाक्ने रोगलाई एडिनो कन्जन्टिभाईटिस पनि भनिन्छ । कन्जन्टिभाइटिस रोगले आँखाको झिल्ली जस्तो तहमा असर गर्ने र रोगको मुख्य लक्ष्यण आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने आदी हुने केन्द्रका प्रमुख पराजुलीले बताए ।
एडिनो कन्जन्टिभाईटिस रोग एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलै सर्न सक्ने र संक्रमण फैलिएर आँखाको बाहिरी भाग हुदैँ भित्र नानीसम्म पुग्नेसक्ने भएकाले समयमा उपचार गर्नुपर्ने उनको भनाई छ । चिकित्सक अनुसार समयमै उपचार गरेर यो रोग सजिलै निको हुन्छ । आँखा पाक्ने रोग देखिएपछि एकदेखि दुई हप्तामा आफै कम हुदै जाने उनको भनाई छ ।


