तिलक पाैडेल
२०६८ कार्तिक २६ गते शनिबार यथासमयमै उठेर नुन चिया र ऊवाको सातुको बिहानी खाजा खाई ६:३० बजेतिर यात्रा अघि बढाइयो । त्यो होटेल त्यही गाउँ विकास समितिका प्रविधिक सहायकको रहेछ । आगो फुक्न पनि सुनारले गहना बनाउँदा प्रयोग गर्ने मेशिनले फुक्ने व्यवस्था मिलाइएको रहेछ, राम्रो लाग्यो ।
करिब एक घण्टाको हिँडाइपछि गाउँ विकास समितिको भवनमा पुग्यौँ । अन्यत्र जस्तै त्यहाँ पनि पानी नआउने = संविधानको धारा जस्तो धारो रहेछ । भवन भने उपयुक्त नै पाइयो । त्यहींका सचिव चेतप्रसाद अमगाईं हाम्रै सहयात्री भएकाले तपाइँ नहुँदा पनि प्राविधिक सहायकबाट दैनिक कार्यसञ्चालनको व्यवस्था गर्नु, राष्ट्रिय झण्डा गाड्नु, धारामा पानी आउने व्यवस्था मिलाउनु जस्ता सुझाव गरी अघि बढ्यौँ । ५ मिनेटकै
हिँडाइपछि बहुत राम्रो रङ्गीन जङ्गल (हरिया, राता, पहेँला … रुखहरू भएको) दृष्टिगोचर हुनपुग्यो – प्राकृतिक कलाकर्मिता ! अरू १५ मिनेटको यात्रापछि ७:५० बजेतिर ल्हो (३१४० मीटर) गाउँमा पुग्यौँ । त्यहाँ फेरि पानीका धाराहरूबाट अविरल पानी बगिरहँदो रहेछ र हिँड्ने बाटोसमेत हिलो भई अनपेक्षित फोहोर भएको पाइयो । सायद गाउँघरमा शौचालयको बन्दोबस्त रहेनछ क्यारे वा प्रयोज्य नभएर हो ! साना बच्चाहरूले सडक किनारमै दिसा गरेको देखिन्थ्यो । जबकि रङ्गीचङ्गी ध्वाजापताका/झण्डाहरू र तोरणहरूले माथि गुम्बासम्म सजाइनु, बायाँपट्टि रङ्गीन जङ्गल हुनु र अन्यत्रको तुलनामा धाराहरू उपयुक्तै हुनुले ल्हो गाउँ सोचेभन्दा राम्रो लाग्यो । लामो आकारको गुम्बा स्कुल, होटेल टासी देलेकले पनि गाउँको शोभा थप गरिरहेझैँ लाग्दथ्यो । बिहानको कलिलो घामको प्रकाशमा वास्तवमा ल्हो गाउँ पर्यटकार्षक देखिन्थ्यो । हामीहरू स्यालाको उकालो सहजसँग कटाउने ध्येयले विस्तारै यात्रा अघि नै बढाइएकोले दूरदर्शनमा मात्रै सीमित रहेकोमा अहिले पनि पश्चाताप लागिरहेछ – गुम्बा र गुम्बास्कुलको निरीक्षणावलोकन गर्न नपाएकोमा ।
हामीले स्यालाखोला तर्दा ८:३० बजेको थियो । काठेपुल तरिएको त्यो खोलाका ढुङ्गाहरू पहेँला थिए । त्यहाँबाट उकालो सुरु हुँदोरहेछ । बिचमा पैरोको कारण बाटो खराब रहेछ भने बिजुलीको पावरहाउसकै वरिपरि पानीघट्टझैँ माने (माने, पामे, हुम) घुमाएको देखिन्थ्यो । करिब १,५०५ पाइलाको उकालो हिँडाइपछि स्याला पुग्यौँ । त्यहाँ पुग्दास ९:४५ बजेको थियो । हिजो बेलुका स्यालाको उकालोमा कुनै असजिलो नभएमा लार्केपासमा बल गरे हुन्छ, नत्र नजानु होला भनेको स्मरण हुँदा सहयात्रीहरूबिच लार्के पनि सहजै पार गरिने परिकल्पनाहरू भए । तस्वीरहरू खिचाइयो । घोडाका बछेडाले पोलिथिन पाइपको धारामा पानी पिइरहेको थियो । नवनिर्माणका कार्यहरू धमाधम भैरहेका थिए, जसको परिणाम २/४ वर्षपछि त्यहाँ खाने बस्ने राम्रो सुविधाहरू उपलब्ध हुने अनुमान गर्न सकिन्थ्यो ।
हामीहरू १०:२० बजेसम्म ठिङ्ग्रेसल्ला – जसबाट क्यान्सरको औषधि बन्ने चर्चा सुनिन्छ, को जङ्गल पार गरी काठको साँगुबाट खोला तरियो । खोलैनेर बाटो खराब थियो भने उकालोका खुड्किलाका छेउ/डिलहरू सल्लाका काठबाट बनाइएका थिए । त्यहाँ नयाँ पुल पनि बन्दै थियो ।
हामीहरू ११ बजे गौरीशङ्कर प्राथमिक विद्यालयमा पुग्यौँ । छात्रवासमा बस्ने केटाकेटिहरू खाना खाँदै थिए । हामीलाई लिन घोडाहरू पठाइएकोले सामा गाउँसम्म ‘पोनी ट्रेक’ – घोडेयात्रा गरियो । विद्यालय भवन नीलो जस्तापाताले छाइएको, हेर्दै चिटिक्क परेको थियो । सवा एघारबजेतिर हिँड्दै गर्दा नदीपारि एकनासका घरहरू देखिन्थे भने साना बच्चाहरूले आफूभन्दा ठूला दाउराका भारी बोकेका देखिन्थ्यो, जसले निर्वाध बालसुलभ शिक्षाको अवसर सहज उपलब्ध भैरहेको प्रमाणित गर्न नसकिएको प्रतीत हुन्थ्यो । पौने बाह्रबजे हामीहरू सामा गाउँ पुग्यौँ । पुराना घरहरू, तला चढ्न भर्याङहरू, बालश्रमका दृश्यहरू, पानी नआउने धाराहरू, धारा नभएका पानीहरू र उपयुक्त पानीका धाराहरू अवलोकन गर्दै बढ्दै गर्दा जिग्मेलामाजीसँग भेट भई चियापान गरियो ।
‘टुरिष्ट चेक पोष्ट’ र सार्वजनिक शौचालय हुँदै एकबजेतिर खाना खाने व्यवस्था गरिएको ठाउँमा पुगेर खाना खायौँ । वरिपरि जङ्गल नभै बुट्यानहरू थिए । चिसो प्रशस्तै थियो । भोक राम्रै लागेको बेलामा खाना बहुत स्वादिलो थियो । खानापछि धर्मशालाका विषयमा एकछिन छलफल गरी केही साथीहरू थकाइका कारण त्यहीं आराम गर्नुभयो । हामीहरू जिग्मेलामाजीका साथ छोइलिङ् गुम्बाको अवलोकन गर्दै आधा घण्टाको हिँडाइपछि वीरन्द्रतालमा पुग्यौँ । त्यस दृश्यले मलाई मनाङ् गाउँको ‘तिलिचो ताल’को स्मरण गरायो । तालको दायाँ भागतिर माथिबाट पैरो आई पुरेको थियो भने तालसम्म पुग्ने सहज बाटो पनि थिएन । तालसमेत घुम्न सकिने र घुमेर अर्कैतिरबाट गाउँ फर्कन मिल्ने हिसाबले बाटो निर्माण गर्नुपर्ने र पहिरोबाट पुरिन नदिने बन्दोवस्त मिलाउनुपर्ने ठहर गरियो ।
४:०० बजेतिर गाउँमा फर्केर चियापान गरी मुरली मकै खाँदै गाउँले दाजूभाइ, दिदीबैनीहरूसँग करिब ६:०० बजेसम्म समसामयिक विषयमा अन्तरक्रिया गरियो । चिसो बढी भएका कारण ‘ठहटो’ – ठण्डीहरण टोनिकको समेत सहारा लिई खाना खाएर वीरबहादुरजीको होटेलमा ४ जना र अर्को होटेलमा ६ जना गरी सुत्ने व्यवस्था मिलाइए बमोजिम कार्यान्वयन गरियो । फिलिमसम्म सँगै आएका टेलीफोन समबन्धी काम गर्ने भट्टराईजी पनि पुन: भेट हुनुभयो । हामीले शनिबारको हास्य टेली शृङ्खला ‘मेरी बास्सै’ हेरेर आराम गर्यौँ । तातोपानीमा भेट हुने आमा-छोरीले सामागाउँ पुग्न ६ दिन लाग्छ भनेपछि त्यसै बमोजिमको मनस्थिति बनाइएकोमा सोचेभन्दा सहज ढङ्गले आइपुगेको मनन गर्दै निद्रादेवीको शरण परेँ । वीरबहादुर एकजना शिक्षक भएपनि राम्रो हिसाबले होटेल सञ्चालन गरिरहेका रहेछन् भने सामाजिक कार्यमा पनि सक्रिय लाग्यो । साँझको अन्तरक्रियामा पनि उनैले स्वागत गर्दै गाउँका समस्त व्यहोरा अवगत गराएका थिए । जाडो ठाउँमा फिदरका टिम्बा सिरकभित्र सामागाउँको रात सानन्द बिताउने मौकामा कतिखेर निदाइएछ एकैचोटि बिहानमात्र आँखा खुलेथे ।
तस्वीरमा व्यहोराहरू …



























