कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ बाणी नवदुर्गा टोल बस्ने ३५ वर्षीय कुवेर दमाई (हले)को हत्या अभियोगमा आफ्नै भतिज र भान्जा संलग्न भएको भन्दै प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मृतकको भतिज नाता पर्ने कृष्णपुर नगरपालिका–२ बस्ने २२ वर्षीय अजय दमाई र भान्जा नाता पर्ने २८ वर्षीय हरिश दमाई रहेको कञ्नचनपुर प्रहरीले जनाएको छ ।
सोमबारदेखि अचानक घरबाट हराई बेपत्ता भएका कुवेर दमाईको कृष्णपुर नगरपालिका–२ बाणी बन्द नदीको बगरमा बिहीबार गाडिएको अवस्थामा शव फेला परेको थियो ।
सोमबार राति बन्द नदीको बगरमा उनीहरूबीच घरायसी कुरामा सम्झाई बुझाई गर्ने क्रममा विवाद भएको र विवादको क्रममा कुवेरलाई दुवै जनाले कुटपिट गर्नुका साथै ढुंगा समेत प्रहार गरी हत्या गरी सोही स्थानमा खाडल खनि पुरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको पनि कञ्चनपुर प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले पक्राउ परेका दुवै जनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




















