काठमाडाै। सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बसिरहेकाे छ । केन्द्रीय समिति बैठक बस्नुअघि माओवादीकाे पदाधिकारी बैठक बसेकाे हाे ।
केन्द्रीय समिति बैठकको सुरुमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गर्नेछन् । त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ ।
केन्द्रीय समिति बैठकका लागि गत सोमबार बसेको माओवादी पदाधिकारी बैठकले केही एजेन्डा तय गरिसकेको छ ।
जसअनुसार नेताहरूको जिम्मेवारी बाँडफाँट, संगठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विशेष महाधिवेशन र विधान महाधिवेशन तथा समसामयिक विषयअन्तर्गत सरकार, सदनलगायत एजेन्डा छन् ।
मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् ।
सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
माओवादी केन्द्रको अहिले केन्द्रीय कमिटीमा केन्द्रीय सदस्य ३ सय ८५ र वैकल्पिक केन्द्रीय सदस्य १ सय ९८ जना रहेका छन् । माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार केन्द्रीय कमिटीमा महिलाको ३३ प्रतिशत संख्या नरहेकाले मनोनीत गरेर सो संख्या पूरा गर्न लागिएको हो । केन्द्रीय सदस्यमा मनोनीत हुनेमा केही पार्टी एकीकरणबाट आएका नेता पनि रहेका छन् ।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गर्ने र सो प्रतिवेदनमा समूहगत छलफल हुने एजेन्डा पदाधिकारी बैठकले तय गरिसकेको छ । सांगठनिक, पछिल्लो राजनीतिक, सरकार, समाजवादी मोर्चालगायतका विषयमा प्रचण्डले प्रतिवेदनलाई अन्तिम रूप दिएका छन् ।




















