साँकेतिक तस्बिर
गोरखा । धार्चे गाउँपालिका ले लगातारको बर्षाका कारण पालिका आसपासका क्षेत्रमा नदी तथा खोला नालामा पानीको सहत बढेको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ ।
गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै अविरल बर्षाका कारणले गाउँपालिका हुँदै बग्ने बुढीगण्डकी नदी, रेसे खोला तथा अन्य खहरे खोलाहरुमा पानीको सहत र वहाव अत्याधिक बढ्न गएकाले जुन सुकै बेला बाढी र पहिरो जानसक्ने जोखिम रहेकाले सर्तक रहन पालिकावासीहरुलाई सचेत गराएको हो ।
पालिकाले जारी गरेको सूचनामा पानीको सतह बढेका बेला नदी तथा खोला किनारा आसपासमा आवतजावत गर्न र बसोबास गर्दै आएका नागरिकहरुलाई सर्तक रहन भनेको छ ।
गएरातीदेखि परेको बर्षाले रेसे खोलामा आएको बाढीले खोला किनार माछिखोला बगरमा केहि क्षति पुर्याएको समेत गाउँपालिकाले जनाएको छ । उक्त स्थान बाढी र पहिरोको अत्यन्तै जोखिममा रहेको भन्दै पालिकाले त्यस क्षेत्रमा बसोबास गरिरहेका मानिसहरुलाई यथासिघ्र सुरक्षित स्थानमा सर्न समेत बिशेष अपिल गरेको छ ।
साथै वर्षायामको समयमा बाढि पहिरोको संभावित जोखिमबाट बच्न र त्यस्ता जोखिमयुक्त स्थानहरुमा आवतजावत नगर्न पालिकावासीलाई आग्रह गरेको छ ।





















