जनकपुरधाम । लामो समयदेखि वर्षा नभएपछि पानी माग्दै धनुषाको धनुषाधामस्थित धनुष मन्दिरमा दूध चढाइएका छन् ।
आज साधुसन्त र पूजारीले धनुष मन्दिरमा दूध अर्पण गरेका हुन् । मन्दिरमा दूध चढाउन स्थानीयले दूध संकलन गरेका थिए । ती सबै दूध मन्दिरमा चढाइएको छ ।
प्रसस्त मात्रामा आकाशे वर्षा नभए पछि खडेरीले सर्वसधारणलाई सताएको छ । किसान धानको खेतमा धानका बिउ छिप्पीदै गएका छन् । मधेशको उत्तरी क्षेत्रमा खानेपानीको हाहाकार हुन थालेको छ । हाते कल, पोखरी र इनारहरु समेत सुक्न थालेको छ ।
त्रेतायुगमा भगवान रामले माता सीतासँग विवाह गर्नका लागि धनुष तोडेका थिए । तोडिएको धनुषको एउटा टुक्रा आकाश, एउटा धर्ती र एउटा टुक्रा धनुषाधाममा खसेको धार्मिक विश्वास छ । अहिले पनि धनुषाधाममा धनुषाको टुक्रा देख्न सकिन्छ ।
भगवान रामले तोडेकै धनुषको टुक्राको अवशेष अहिले पनि रहेकाले त्यस ठाउँको नामाकरण धनुषाधाम गरिएको छ र त्यहाँ धनुष मन्दिर पनि निर्माण गरिएको छ । उक्त मन्दिरमा दूध अर्पण गरेपछि वर्षा हुने र खडेरी नपर्ने मान्यता रहेको छ ।
सोही मान्यताको आधारमा शनिबार धनुष मन्दिरमा दूध चढाइएको स्थानीयले बताएका छन् ।




















