काठमाडौं । लामो समयदेखि रोकिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट सुरु हुने भएको छ ।
बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । विधानअनुसार प्रत्येक २ महिनामा कम्तीमा १ पटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने उल्लेख भए पनि १ वर्षपछि मंगलबार बैठक बस्न लागेको हो ।
यसअघि गत बुधबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका कारण स्थगित भएको थियो ।
कांग्रेस पार्टीले मंगलबारदेखि बस्ने केन्द्रीय कार्य समितिको बैठकका लागि १० वटा एजेण्डा तय गरेको छ ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय कार्य समिति बैठकका लागि १० वटा एजेण्डा तय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले १० वटा एजेण्डा तय गरिएको जानकारी दिएका हुन् ।
यस्तो छ कांग्रेस केन्द्रीय समिति बैठकको एजेण्डा
१) समसामयिक विषय ।
२) सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव ।
३) कार्यसम्पादन समिति बैठकबाट यसअघि भएका निर्णयहरु अनुमोदन ।
४) पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत ।
५) नीति अधिवेशन सम्बन्धी प्रस्ताव ।
६) विभाग गठनसम्बन्धी प्रस्ताव ।
७) एउटा अभियान घोषणासम्बन्धी प्रस्ताव ।
८) अनुशासन समितिको प्रतिवेदनसम्बन्धी प्रस्ताव
९) प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिकाबारे संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउने ।
१०) सरकारमा पार्टीको भूमिकाबारे उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउने ।




















