गोरखा । गोरखा अजिरकोट गाउँपालिकाले षोषण सुधार कार्यक्रम अन्तरर्गत पालिका भित्रका गर्भवती तथा सुत्केरी महिलाहरुलाई लोकल ध्यू प्रदान गर्दै आएको छ ।
गाउँपालिकाले कार्यक्रमलाई प्रभावकारी बनाउन चालु आर्थिक बर्षदेखि गर्भवती महिलाहरुलाई लोकल ध्यू लगायतका पोषणयुक्त सामाग्री वितरण गर्न थालेको हो ।
पालिका स्वास्थ्य शाखाका प्रमुख ठाकुर भट्टका अनुसार पोषण सुधारका लागि गर्भवती महिलालाई स्थानीय स्तरमा नै उत्पादन भएको लोकल भैसीको ध्यू वितरण गर्न थालेको छ । भट्टका अनुसार महिलाहरुलाई दिदै आएको अण्डा पनि अब स्थानीय स्तरमा नै उत्पादन भएका अण्डाहरु वितरण गर्न थालिएको छ ।
प्रमुख भट्टले स्थानीय उत्पादनलाई प्रोत्साहन मात्र नभएर गुणस्तरीय पनि हुने भएकाले स्थानीय उत्पादनलाई नै पोषण सुधारका सामग्रीमा समेटिएको बताए ।
कार्यक्रम अन्तरर्गत पहिलो पटक गर्भ परीक्षण गर्दा गर्भवती महिलाले लोकल भैसीको १ माना ध्यू र १ क्रेट अण्डा पाउछन् । पालिका भित्रका गर्भवती महिलालाई ३ पटकसम्म पोषण सुधारका सामाग्री प्रदान गर्दै आएको पालिकाले जनाउको छ ।
चौथो पटकको भेटमा गर्भवती महिलालाइ गाउँपालिकाले ध्यू, अण्डासंगै न्यानो पछ्यौरा दिने गरेको छ । गाउँपालिका अन्तरर्गतका घ्याचोक, मुच्चोक लगायतका क्षेत्रमा पोषण सामाग्रीमा पर्ने अण्डा वितरण गर्न लैजादा फुट्ने लगायतका समस्या हुने गरेका कारण त्यस क्षेत्रमा बैकल्पिक ब्यवस्था गर्न कार्यपालिकामा छलफल भइरहेको पनि पालिकाले जनाएको छ ।



