गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९–०८० को सार्वजनिक सुनवाई सम्पन्न गरेको छ । बारपाकको हिमालय माविमा तेस्रो चौमासिक सार्वजनिक सुुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले बारपाकलाई पर्यटकिय गन्तव्यको रुपमा बिकास गर्नका लागि थप दिएका छन् । सहभागीहरुले भुकम्पको केन्द्रबिन्दुसम्म ट्रेल निर्माण गरी बारपाकमा आउने पर्यटकहरुलाई भुकम्पको केन्द्रबिन्दु पुग्ने अबस्थाको सृजना गर्नुपर्नेमा जोड दिएका थिए ।
सहभागीहरुले बारपाकसम्म आइपुग्ने सडक बाह्रै महिना नियमित रुपमा सञ्चालन गर्नुपर्ने, बारपाक गाउँ भित्र खानेपानी तथा ढल व्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिनुपर्नेमा पनि जोड दिएका थिए ।
त्यस्तैगरी, बारपाकको बेसी क्षेत्रमा अर्गानिक तरकारी उत्पादनको राम्रो सम्भावना रहेको भन्दै स्थानीयबासीहरुले गाउँपालिकाले किसानहरुलाई व्यवसायिक तरकारी खेतीका लागि आवश्यक सहयोग गर्न माग गरेका छन् ।
सहभागीहरुले उठाएको प्रश्नको जवाफ दिदै गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले गाउँपालिकाले पछिल्लो समय कृषकहरुलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराउन सुरु गरेको भन्दै उत्पादनमा जोडदिन सहभागीहरुलाई आग्रह गरे । ‘जसले बढी उत्पादन गर्छ उसलाई गाउँपालिकाले प्रोत्साहन स्वरुप तौल लिएर त्यसैका आधारमा अनुदान दिन सुरु गरेको छ, उनले भने, ‘अब टनेल निर्माण, बिउ बितरण भन्दापनि जसले धेरै उत्पादन गर्छ उसैलाई धेरै अनुदान गाउँपालिकाले उपलब्ध गराउदछ ।’
अध्यक्ष भट्टले पर्यटकिय गन्तव्यको रुपमा चिनिएको बारपाकको पहिचानलाई फैलाउनका लागि गाउँपालिकाको तर्फबाट आबश्यक पहल र योजनाहरु निर्माण गरी कार्यान्वयन गर्दै आएको बताए । उनले बिकास निर्माणका योजनाहरुमा बजेट बिनियोजन गर्दा सिमित स्रोत साधनबाट काम गर्नुपर्ने बाध्यता रहेकाले जनताको चाहाना र आवश्यकता अनुसार बजेट छुट्याउन कठिनाई हुने गरेको बताए ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सनमाया गुरुङले बिकास निर्माणका काममा गाउँपालिकाले प्रभावकारी अनुगमन गर्दै आएको भएपनि कतिपय ठाउँमा अनुगमनमा समस्या भएको बताए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आर्चायले पालिकाले दैनिक रुपमा नागरिकहरुलाई प्रवाह गर्ने सेवा सुबिधा चुस्तदुरुस्त पार्दै आएको बताए ।
भौगोलिक हिसावले गाउँपालिका २ भागमा बिभाजित जस्तो भएकाले पनि बारपाक लगायतका वडामा कार्यालय प्रदान गर्ने सेवा प्रवाहलाई घुम्ती सेवाको रुपमा पनि सञ्चालन गर्दै आएको उनले स्पस्ट पारे ।
सोच नेपाल मिडियाको समन्वय तथा गाउँपालिकाको आयोजनामा एवं गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरु, गाउँपालिका बिभिन्न शाखाका प्रमुख तथा पालिकाबासी गरी १५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।




















