काठमाडौं । ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिलबल्ल श्रेष्ठलाई प्रहरीले आज पक्राउ गरेको छ ।
उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा नाइट क्लब एलओडीका अर्का सञ्चालक श्रेष्ठ पक्राउ परेका हुन् ।
गत जेठ ३० गते ठमेलको एलओडी क्लबमा पुगेकी १६ वर्षीय किशोरीको बलात्कार प्रकरणमा क्लबका सञ्चालकद्वय रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएको थियो ।
ललितपुर प्रहरी परिसरले शुक्रबार बिहान ९ः३० बजे श्रेष्ठलाई कुपण्डोलबाट पक्राउ गरेको हो । ललितपुर प्रहरी परिसरले एलओडीका अर्का सञ्चालक राजुसिंह सुवाललाई पनि बिहीबार अपरान्ह बालुवाटारबाट पक्राउ गरिसकेको थियो ।
पक्राउ परेका दुवैजनालाई शुक्रबार नै जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाईएको छ । उनीहरुलाई बालबालिकासम्बन्धी कानुन अनुसार कारबाही अघि बढाइएको छ ।


