काठमाडौं । कोशी प्रदेश सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीका लागि दाबी गर्दा सभामुख समावेश गरेको बिरोधमा एमाले सर्वोच्च पुगेको हो ।
प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार नै थापालाई मुख्यमन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री थापाले आज पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् ।
कोशी प्रदेश सभामा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी रिट लिएर सर्वोच्च पुगेका हुन् ।
सभामुखलाई समेत जोडेर सरकार गठन गरिएकाले असंवैधानिक भएको एमालेको जिकिर छ । रिटमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम गठन भएको कोशी प्रदेश सरकार असंवैधानिक भएकाले बदर गर्न माग गरिएको छ ।
यससँगै रिटमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठनका लागि परमादेश माग गरीएको छ । यो उपधारामा अल्पमतको सरकार गठनको व्यवस्था छ । दुई वा दुईभन्दा बढी दलको सरकार गठन हुन नसकेमा यो उपधारा अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको सरकार गठन हुने व्यवस्था छ ।
कोशी प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दल हो । एमालेका ४० सांसद छन् ।


