वीरगंज । बारा प्रहरीले भारत पैठारी हुन लागेको ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । बिहीबार राती ९ बजे जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर बजार नजिक रोकिराखेको अवस्थाको बीआर २५ जीए १४५८ नम्बरको भारतीय ट्रकबाट प्रहरीले २६२ किलो गाजा बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैयाको संयुक्त टोलीले गाँजा बरामद गरेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । मकवानपुरबाट वीरगंज नाका हुँदै ठूलो परिमाणमा गाँजा लिएर गइरहेको भन्ने पूर्व सूचनाको अधारमा प्रहरीले भारतीय ट्रकको खोजी सुरु गरेको थियो ।
बिहीवार दिनभर उक्त ट्रक जितपुरमै सडक छेउमा रोकिएको अवस्थामा स्थानीय जनप्रतिनिधिको रोहबरमा ट्रकको हुडमा खोलेर हेर्दा फल्स बटन बनाई राखिएको अवस्थामा गाँजा र ट्रक नियन्त्रणमा लिइएको थियो ।
फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी पुरुषोत्तम पाण्डेले बताए ।


