काठमाडौ । आज संयुक्त राष्ट्रसंघका उपमहासचिव जीन पियरे ल्याक्रोक्स र नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरबीच शिष्टाचार भेटबार्ता भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा उनीहरु बिच शिष्टाचार भेटबार्ता भएको हो ।
भेटमा उपमहासचिव ल्याक्रोक्सले संयुक्त राष्ट्र संघको अनुरोधमा विभिन्न देशमा शान्ति स्थापनार्थ खटिएका नेपाल प्रहरीका कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गरेका थिए ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले मानव अधिकारको संरक्षण एवम् प्रवर्द्धन गर्दै संयुक्त राष्ट्रसंघको विधानप्रति सदैव प्रतिवद्ध रहँदै शान्ति स्थापनार्थ नेपाल प्रहरी परिचालित भई योगदान दिँदै आएको स्मरण गराएका थिए ।
उनीहरूबीच संयुक्त राष्ट्रसंघको अनुरोधमा विभिन्न मिसनमा शान्ति स्थापनार्थ परिचालित हुने नेपाल प्रहरीको सहभागिता बढाउने, राष्ट्रसंघमा नेपाल प्रहरीको योगदान र आपसी हित लगायतका बिषयमा छलफल भएको नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
कार्यक्रममा संयुक्त राष्ट्र संघका नेपालस्थित आवसीय प्रतिनिधि हान्ना सिंगर हाम्डे, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायत लगायत अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।



