पोखरा । पोखरामा सञ्चालन भइरहेको ड्रागन बोट रेस प्रतियोगिताको आज अन्तिम दिनको फाइनलमा नेपाल दोस्रो भएको छ । नेपालको २ टिम र चिनियाँ २ टिमबीच उपाधिका लागि भएको अन्तिम प्रतिस्पर्धामा सिचुवान ड्रागन बोट टिम प्रथम भएको छ ।
पोखरास्थित फेवा तालमा उपाधिको लागि भएको अन्तिम प्रतिस्पर्धामा नारा नेपाल टिम दोस्रो र युनान ड्रागन बोट टिम तेस्रो भएका छन् ।
नेपालको तर्फबाट प्रतिस्पर्धामा सहभागी ४ टिममध्ये ‘नारा ड्रागन बोट टिम’ र ‘एनआसीए ड्रागन बोट टिम’ले अन्तिम ४ मा स्थान बनाएका थिए ।
प्रथम हुने टिमले नगद ५ लाख ५० हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । कुल ३० लाख नगद पुरस्कार राशि भएको यो प्रतिस्पर्धा शुक्रबारदेखि २ दिन पोखराको फेवातालमा भएको थियो ।
प्रतियोगितामा सहभागी हरेक खेलाडीलाई जनही १ लाख नगदसहित प्रमाणपत्र दिइने जनाइएको छ ।



