बझाङ । जीप दुर्घटनामा परी ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह र उनकी पत्नी अमृतादेवीको अन्त्येष्टि आज गरिँदैछ ।
कान्छा छोरा नर्वेबाट आउन समय लागेकाले सिंह दम्पतीको अन्त्येष्टि ४ दिनपछि सनिबार गर्न लागिएको हो ।
सिंह दम्पतीको पार्थिव शरीर शनिबार जिल्ला अस्पतालदेखि चैनपुर बजार परिक्रमा गराई कांग्रेस पार्टी कार्यालयमा शोक तथा श्रद्धाञ्जली अर्पण गरेर दिउँसो सेती नदीस्थित धौला बगर मसान घाट डुंग्रीमा अन्त्येष्टि गरिने भएको हो ।
डडेल्धुराबाट गृहजिल्ला बझाङ आउने क्रममा गत मंगलबार मन्त्री सिंहसहित उनकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा परी मृत्यु भएको थियो ।
मन्त्री सिंह सवार सुदुर पश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप मंगलबार दिउँसो १ः३० बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।


