पोखरा । गण्डकी प्रदेश सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विपद् तथा आपतकालिन अवस्थामा प्रयोग हुने सामग्रीहरू प्रदान गरेको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकको अवसरमा उनीलाई उद्धार सामग्रीहरू हस्तान्तरण गरेका हुन् । उक्त सामाग्री करिब ५३ लाख बरावरको हो ।
प्रदेश सरकारले उपलब्ध गराएका सामाग्रीहरुमा खाना तातो बनाउने मेसिन, मोटरबोट र विभिन्न किसिमका उद्धार सामग्री गरी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
उक्त सामग्री सुरक्षा निकायहरूले आवश्यकता अनुसार प्रदेश भित्रका जिल्लाहरूमा पठाउने छन् । पर्वतमा भएको कार्यक्रममा सुरक्षाकर्मीहरूलाई सामग्री हस्तान्तरण गर्दै मुख्यमन्त्री पाण्डेले मनसुनको समय सुरु भएकाले बाढी, पहिरो, कटान, डुबान लगायतबाट हुने क्षति न्यूनीकरण सँगै अन्य विपद्का घटनामा संवेदनशील भएर अघि बढ्न प्रदेश सरकारले उच्च सतर्कता अपनाएको बताए ।
उनले तत्काल उद्धार र राहतकालागि प्रदेश सरकारले सहयोग गर्ने बताउँदै उपलब्ध सामग्री, साधन स्रोत स्टोर गरेर राख्ने नभइ प्रयोगमा ल्याउनुपर्ने बताए ।
परिषद् बैठकमा प्रतिपक्ष दलका नेता खगराज अधिकारी, प्रदेश सरकारका मन्त्रीहरू, नीति आयोगका उपाध्यक्ष, प्रमुख सचिव, विभिन्न सङ्घ संस्था, सुरक्षा निकायका प्रमुखहरू लगायतको उपस्थिति थियो ।


