काठमाडाै । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनसँग विशेष उपहार साँटेका छन् ।
उनले अमेरिकी प्रथम महिला जिललाई प्रयोगशालामा विशेष रूपमा बनाउन लगाएको ७.५ क्यारेटको हरियो हिरा उपहार दिए, बाइडेनलाई विशेष चन्दनको बाकस। चन्दनको बाकसलाई जयपुरका शिल्पकारले हातले बनाएका थिए । उक्त बाकसमा वनस्पती र जीवजन्तुका ढाँचा कुँदिएका छन्। यसमा गणेशको मूर्ति पनि छ ।
यसैगरी उनले ‘द टेन प्रिन्सिपल अफ उपनिषेद’ पुस्तक पनि बाइडेनलाई दिए । यसबाहेक बाइडेनलाई मोदीले तमिलनाडुको सेतो तिल, राजस्थानको सुनको सिक्का पनि दिएका थिए ।
यसैगरी पञ्जाबको घिउ, महाराष्ट्रको गुँड, गुजरातको नुनलगायतको उपहार बाइडेनको परिवारलाई मोदीले दिए । २० जुनमा राजकीय भ्रमणका क्रममा मोदी अमेरिका प्रस्थान गरेका थिए । आज (२२ जुन) मा मोदी र बाइडेनबीच भेटवार्ताको कार्यक्रम तय भएको थियो ।
भेटमा शिखर सम्मेलनको मुख्य उद्देश्य रक्षा र अत्याधुनिक प्रविधिको क्षेत्रमा भविष्यका लागि स्पष्ट रोडम्याप तयार गर्ने विषयमा छलफल भएको बताइएको छ । यसबाहेक रक्षाका लागि हतियारमा साझेदारी गर्ने र अमेरिकी कम्पनीका अत्याधुनिक रक्षा प्रविधि भारतलाई हस्तान्तरण गर्ने विषयमा पनि भेटमा छलफल भएको छ ।
आजै राष्ट्रपति बाइडेन र उनकी पत्नी जिलले मोदीका लागि रात्रिभोजको आयोजना गरेका छन् ।



