धनगढी । सुदूरपश्चिम सरकारले बुधबार शोक बिदा दिने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको दुर्घटनामा भएकाे निधनको शोकमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेकाे हो ।
मंगलबार धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी घाइते भएका मन्त्री सिंहसहित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिंहसहित उनकी श्रीमती अमृता सिंह र भाउजू जयादेवी सिंह रहेको प्रहरीले जनाएको छ ।
मन्त्रीसहित ५ जना सवार गाडी मंगलबार दिउँसो बझाङको केदारस्यूँ गाउँपालिका- १ को देउरामा दुर्घटना भएको थियो ।
दुर्घटना पश्चात् गम्भीर घाइते भएका मन्त्री सिंहसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट कोहलपुर अस्पताल लगिएकोमा मन्त्री सिंहको अपराह्न ०५ः ३३ बजे मृत्यु भएको थियो भने अन्य २ जनाको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
मन्त्री सिंहकाे शव मंगलबार नै हेलिकाेप्टरबाट धनगढी ल्याइएकाे हाे । अहिले ९ बजे श्रद्धाञ्जली लागि मन्त्री सिंहकाे शव धनगढीस्थित खुलामंचमा राखिने प्रदेश सरकारले जनाएकाे छ । त्यस लगत्तै उनकाे शव गृह जिल्ला बझाङ लगिने र उतै अन्त्यष्टी गरिने भएकाे छ ।


