काठमाडाै । अनेकन अनुमान र आशंकाबीच सुरु भएको ‘सहिद स्मारक ए डिभिजन लिग’को शनिबार औपचारिक समापन भयो । अंक तालिकामा सुरुवातबाटै रोमाञ्चकता देखिए पनि मैदानमा दर्शक अभावले लिगको गरिमा जारी सिजन झनै धुलिसात भयो ।
रेलिगेसन ब्याटलको अन्तिम खेलमा बिना टिकट पनि दशरथ रंगशालामा पुग्ने कष्ट यो पटक फुटबल समर्थकले गरेनन्। जसले फुटबलको भविष्य माथिनै प्रश्न उठाइदियो ।
यो सिजनको लिगले क्लब फुटबलको घट्दो क्रेजलाई पुनर्ताजगी दिन असफल मात्र भएन, केही विवाद र आशंकाहरूलाई सतहमा छाडेर गयो ।
अन्तिम समयमा रेलिगेसन ब्याटलका दौडमा रहेका तीन क्लबलाई एकै पटक खेलाउने पर्याप्त मौका हुँदाहुँदै क्लबहरूको असन्तुष्टिबीच आफ्नो खेल तालिका परिवर्तन गरेनन्। जसले रेलिगेसन होडमा रहेका क्लबबीच ए डिभिजनमा नै रहनका लागि हुनसक्ने मिलेमतोको गतिविधिलाई आशंका गर्ने ठाउँ झनै दियो।
लिगको पुछारमा रहेको खुमलटारले विधिवतरूपमा आफ्नो असन्तुष्टि दर्ज गर्यो। एपिएफ सम्भावित रेलिगेशन संकट टार्न असफल भयो। दुई क्लबको नतिजा हेरेर थ्री-स्टार आफूलाई कस्तो समीकरणले जोगिन सकिन्छ हेरेर रणनीति तय गर्न सफल भयो। जसले गर्दा रेलिगेसन ब्याटल संसयबीच अन्तिम दिन तय भयो।
लिगमा बढुवा भएकै सिजन चर्च ब्वाइज युनाइटेडले सनसनीपूर्ण छविलाई कायम राख्दै च्याम्पियन हुँदा अर्को नवप्रवेशी खुमलटार भने पुन: बी डिभिजनमा घटुवा भयो।
खेलअवधिभर अप्रिय घटना नभए पनि मैदानमा खेलाडी तथा अफिसियलले आफ्नो मर्यादा भने पटक-पटक भुल्न पुग्दा केही खेल तनावपूर्ण बने।
समग्रमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले कर्मकान्डीरूपमा ए डिभिजनको अन्त गर्यो। तर अब फुटबलको भविष्य के? भन्ने प्रश्न भने सर्वाधिक महत्त्वपूर्ण अवस्थामा छोडेर गयो। बी डिभिजनको अनिश्चितता, महिला लिग, ग्रासरुट तथा अन्य संरचनागत सुधारको अन्योलताले आगामी सिजन पुन: लिगले निरन्तरता पाउला कि नपाउला भन्ने अन्योलता कायम रहन पुगेको छ।
तथ्यांकमा ए डिभिजन लिग
लिगमा कुल १८२ खेल हुँदा ४३५ गोल भएको छ। यसैगरी, खेलअवधिभर २८ वटा रातो कार्ड देखाउँदा ५२६ पंहेलो कार्ड देखाइयो। त्यस्तै, लिग अवधिभर ३९३ खेलाडीले सहभागिता जनाएका थिए। एन्फाले ३ मैदानको प्रयोग गर्दै प्रतियोगिताको आयोजना गरेको थियो।
लिगमा विदेशी खेलाडीको वर्चस्व रह्यो। सर्वाधिक गोलकर्ताको शीर्ष ५ मध्ये ४ जना विदेशी खेलाडी छन्। यो पटक आफिज ओलावाले (मछिन्द्र) २३ गोलसहित शीर्ष स्थानमा रहँदा मेसुके ओलामोउ (खुमलटार) १८ गोलसहित दोस्रो र एनकोटो मसोबी (जावलाखेल) १६ गोलसहित तेस्रो स्थानमा रहेका छन्।
१४ गोलसहित चौंथो स्थानमा रफिक अमिनु (फ्रेन्डस्) छन् भने १२ गोलका साथमा पाँचौँ स्थानमा नेपालका दीपकराज सिंह ठकुरी रहेका छन्।
कसले के पाए ?
लिगको उपाधि विजेता बनेको चर्च ब्वाइज युनाइटेडले ७५ लाख नगद प्राप्त गर्दा दोस्रो स्थान हासिल गरेको मछिन्द्र फुटबल क्लबले ५० लाख प्राप्त गरेको छ। त्यस्तै, नेपाल पुलिस क्लबले तेस्रो हुँदै २५ लाख रुपैयाँ हात पार्न सफल भयो। खेलमा फेयर प्ले टोली नेपाल पुलिस क्लबल बन्दै ३ लाख प्राप्त गर्न सफल रह्यो।
त्यस्तै, चर्च ब्वाइज क्लबका कप्तान अनन्त तामाङ मोस्ट भ्यालुएबल प्लेयर हुँदा उनले ३ लाख नगद प्राप्त गरे। सर्वाधिक गोलकर्ता बनेका मछिन्द्र फुटबल क्लबका आफिज ओलावाले २ लाख प्राप्त गरे। त्यस्तै, सर्वोत्कृष्ट गोलकिपर बनेका चर्च ब्वाइजका प्रिसोले २ लाख हात पार्दा थ्री स्टार क्लबका लाकेन लिम्बुले इमर्जिङ प्लेयर घोषित हुँदै १ लाख ५० हजार हात पार्न सफल भए।
‘ए डिभिजन लिग’को समापन
जारी सिजन लामो समयदेखि व्यावसायिक फुटबल खेलिरहेका तीन खेलाडीले सन्न्यास घोषणा गरे। जसमा थ्री-स्टारका कप्तान तथा मिडफिल्डर विक्रम लामाले खेल जीवनबाट सन्यास घोषणा गर्दा उनले अन्तिम दिन थ्री-स्टारको रेलिगेसन टार्दै क्लबलाई ए डिभिजनमै छाडेर बिदा भए।
जावलाखेलविरुद्ध विक्रमले निर्णायक गोल गर्दा थ्री-स्टारले अन्तिम केही मिनेट बाँकी रहँदा महत्त्वपूर्ण तीन अंक हासिल गरेको थियो।
यस सिजनको लिगपछि सन्यास लिने विक्रम चौंथो खेलाडी हुन्। पुलिसका जुमानु राई र भोला सिलवालले पुलिसको अन्तिम खेलबाटै सन्न्यास घोषणा गरेका थिए। यी तीन बाहेक आर्मीका दीपक गुरुङले पनि व्यावसायिक खेलजीवनबाट सन्यास घोषणा गरेका थिए।



