पाल्पा । पाल्पा आइतबार भएको जिप दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन् भने अन्य १० जना घाईते भएका छन् । रैनादेवी छहरा गाउँपालिका–८ को सत्यवतीस्थित केवरेडाँडामा जिप दुर्घटना भएको प्रहरीले जानकारी दिएको हो ।
रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीतर्फ गइरहेको लु. १ च ९०२४ नम्बरको जिप आइतबार साँझ ५ः३० बजेतिर दुर्घटना भएको थियो । दुर्घटना हुदा घटना स्थलमा ३ जना र उपचारको क्रममा थप २ जनाको ज्यान गएको पाल्पा प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घटना स्थलमा अर्घाखाँचीको पाणिनी–१, की ५५ वर्षीया श्यामकला परियार, सोही स्थानका २६ वर्षीय चालक रमेश विक र पाणिनी–२ पोखराथोककी २५ वर्षीया सीता गौतमले ज्यान गुमाएका थिए । सोही दुर्घटनामा परी गंभिर घाईते भई उपचारको क्रममा अर्घाखाँचीको पाणिनी गाउँपालिका–२, का २ वर्षीय बालक संयोग गौतम र पाणिनी–१ का ४४ वर्षीय विजय पोखरेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

संयोगको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र विजयको बुटवलको चौराह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । विजय पोखरेल भने वडाका वडासदस्य भएको खुल्न आएको छ ।
दुर्घटनामा परी अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ धरमपानी बस्ने ७ वर्षीय समीर पाण्डेय, सोही स्थानका १० वर्षीय अनुप सोमरे, पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान बस्ने ५ वर्षीया आर्या भण्डारी र सोही स्थानकी ३४ वर्षीया लक्ष्मी पोखरेल गंभिर घाईते भएका छन् । उनीहरुको उपचार भैरहवा मेडिकल कलेज रुपन्देहीमा भइरहेको छ ।
यस्तैगरी, अर्घाखाँचीको पाणिनी–१, का ६६ वर्षीय रामबहादुर विक, सोही स्थानका ६ वर्षीय संयोग गौतम, सोही स्थानकी ५ वर्षीया पर्विष्टी पोखरेल, सोही स्थानका १० वर्षीय सोलिन परियार र गुल्मीको रुरु गाउँपालिका बलेटक्सारका ९ वर्षीय सार्थक ज्ञवाली पनि घाइते छन् । उनीहरुको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भइरहेको छ ।
यस्तै पाणिनी–१, अर्घाखाँचीका ४० वर्षीय हरि गौतमको बुटवल चौराहा अस्पतालमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।


