गोरखा । ओडिशाको बालासोर जिल्ला नजिकै शुक्रबार साँझ ७ बजे भएको रेल दुर्घटनामा परी हालसम्म कम्तीमा २८८ जनाले ज्यान गुमाएका छन् भने ८०० जनाभन्दा बढी घाईते भएका छन् । भारतमा भएको यो भयानक रेल दुर्घटना पछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटना स्थलको अबलोकन समेत गरेका थिए ।
दुर्घटनामा ३ वटा रेल एक आपसमा ठक्कर खाएका थिए । जसमा कोरोमण्डल एक्सप्रेस १२८४१ शालीमार हावडा नजिकबाट चेन्नई गइरहेको, १२८६४ (सरएम विश्वेश्वरया–हावडा सुपरफास्ट एक्सप्रेस ट्रेन यशवन्तपुर देखि हावडा जाँदै गरेको र मालगाडी बहानागा बजार स्टेशनमा राखिएको दुर्घटनामा परेका थिए । दुर्घटनामा कोरोमण्डल एक्सप्रेस र सुपरफास्ट एक्सप्रेसका १७ वटा डिब्बा रेलको लिकबाट उछिटिएका थिए ।
दुर्घटनापछि नवीन पटनायकले राज्यमा १ दिने राजकीय शोकको घोषणा समेत गरेका छन् । दुर्घटना स्थलमा पुगेका प्रधानमन्त्री मोदीले छानबिनका लागि निर्देशन दिदै जो कोही देशी देखिए पनि कडाभन्दा कडा कारवाही गर्न भनेका छन् ।
अखिल अल इन्डिया रेलवे मेन्स फेडरेसनका महासचिव शिव गोपाल मिश्रका अनुसार कुनै प्राविधिक गडबडीका वा कोरोमण्डल एक्सप्रेसलाई ग्रीन सिग्नल दिइएको थियो वा प्राविधिक गडबडीका कारण रेल मुख्य लाइन छोडेर लुप लाइनमा गएको भन्ने कुरा अनुसन्धान बाट मात्र पत्ता लाग्ने बताए ।

उता रेल मन्त्री अश्विनी वैष्णवले उच्च स्तरीय समिति गठन गरिएको जनाएका छन् । यो दुर्घटनाको जरासम्म पुगिनेछ । दुर्घटना किन भयो, बुझिनेछ र छानबिन पछि मात्र यसबारे थप केही भन्न सकिन्छ भन्दै अहिले सबैको ध्यान उपचार र उद्धारमा भएको पनि बताए ।
रेलमन्त्री वैष्णवका अनुसार दुर्घटनामा मृत्यु भएका आफन्तलाई १० लाख, गम्भीर घाइतेलाई १ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।
त्यस्तै गरी, प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषबाट मृतकका आफन्तलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
यसबाहेक ममता बनर्जीले पश्चिम बंगालका जनतालाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेकी छन् ।
दुर्घटना लगत्तै ४८ वटा ट्रेन रद्द गरिएको छ भने ३९ रेलहरू डाइभर्ट गरिएका छन् । १० रेलहरू छोटो दूरीमा चलाइएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
तस्बिर एजेन्सी


