काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाणका पक्षबाट २ जना पूर्वमहान्यायाधिवक्तासहित दर्जन बढी कानुन व्यवसायीले बहस गर्ने भएका छन् ।
पूर्वगृहमन्त्री बालकृष्ण खाणका पक्षमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादवले बहस गर्दैछन्। खाण गृहमन्त्री हुँदा खाती महान्यायाधिवक्ता थिए ।
त्यस्तै, नेपाल बार एसोसिएसनका वर्तमान र पूर्वअध्यक्षहरूले पनि खाणको पक्षमा बहस गर्दैछन् । बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रमेबहादुर खड्काले खाणको पक्षबाट बहस गर्ने पूर्वमहान्यायाधिवक्ता खातीले जानकारी दिए ।
त्यसबाहेक योगेन्द्र अधिकारीसहित १८ जनाभन्दा बढी अधिवक्ताले खाणको पक्षबाट बहस गर्न नाम टिपाएको खातीले बताए । अघिकारी डेमोक्र्याटिक लयर्स एसोसिएसनका वर्तमान अध्यक्ष हुन् ।
खातीले बहस गर्न चाहने अधिवक्ताको संख्या धेरै भए पनि काँटछाँट गरिने बताए । ‘खाणको पक्षबाट बहस गर्न चाहने अधिवक्ता धेरैको संख्या धेरै छ। जानकारीमा आएअनुसार १८ जनाभन्दा धेरै अधिवक्ता छन् । तर, सबै अधिवक्ता बहसमा उत्रिन सम्भव छैन । काँटछाँट हुन्छ,’ खातीले भने ।
नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकसँग पैसा उठाएर भएको ठगी प्रकरणमा आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु हुँदैछ । हालसम्म पक्राउ परेका १८ जना अभियुक्तको अदालती बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस हुने भएको हो ।


