साँकेतिक तस्बिर
सिन्धुली । सिन्धुलीको सुनकोशी नदीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का कर्मचारीहरु चढेको गाडी खस्दा ३ जना बेपत्ता भएका छन् । उनीहरुको खोजीका लागि अहिले सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ को लौकुनबाट आज बा १ झ ७४६७ नम्बरको गाडी खस्दा सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले बताए ।
शुक्रबार बिहान करिब ११ः३० बजे नदीमा खसेको सिन्धुली प्रहरीले जनाएको छ । १ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामा चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी घाइते अवस्थामा फेला परेका थिए ।
स्काभेटर सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।


