काठमाडौँ । भारतले नेपाललाई पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले प्रतिलिटर पेट्रोलमा २.०४ रुपैयाँ र डिजेल २.११ रुपैयाँ बढाएर पठाएको नेपाल आयल निगमले जनाएको छ ।
नेपाल आयल निगमलाई आईओसीले १५–१५ दिनमा इन्धनको नयाँमूल्य सूची पठाउँछ । उसले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिम पदार्थको मूल्य घटबढ हुँदा सोहीअनुसार समायोजन गरेर पठाउने गरेको छ ।
हाल नेपालमा प्रतिलिटर पेट्रोलको १७५ रुपैयाँ तथा डिजेल र मट्टीतेल १५५ रुपैयाँ उपभोक्ता मूल्य रहेको छ ।
पेट्रोल र डिजेलको मूल्य बढेर आए पनि नेपालमा हालको मूल्य यथावत् राख्ने तयारीमा निगम छ ।
यसैगरी आईओसीले हवाई इन्धन र ग्यासको मूल्य भने घटाएर पठाएको छ । नयाँ मूल्यसूचीअनुसार हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँ मूल्य घटेर आएको छ भने एलपी ग्यासमा प्रतिसिलिन्डर ४९ रुपैयाँ मूल्य घटेर आएको छ ।


