रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–८ दुलीमा भएको जीप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
सानीभेरी गाउँपालिका–५ हाँसुबाट खलङ्गाका लागि छुटेको लु. १ ज १७४७ नम्बर जीप दुलीको मोचेखोलामा बिहीबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा ४ जनाको घटनास्थलमै र १ जनाको उपचारको लागि अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सानीभेरी गाउँपालिका–५ का ४८ वर्षीय देउचन खत्री, ७० वर्षीय कर्ण बाँठामगर, बाँफीकोट गाउँपालिका–८ की २२ वर्षीया रेखा केसी खनाल र उनका २२ दिनको छोरा रोशन केसीको ज्यान गएको हो ।
त्यस्तैगरी, सानीभेरी गाउँपालिका–५ कै २३ वर्षीया शीतला कुसारीको अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत् उपचारका लागि कैलालीको नेपालगञ्ज शिक्षण अस्पताल लगिएको छ ।
सानीभेरी गाउँपालिका–५ का ४० वर्षीय प्रेम बाँठामगर, २२ वर्षीय ललित बाँठामगर, २ वर्षीय प्रसिद्ध कुसारी र २० वर्षीया अनिता केसीको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
अन्य घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ ।


