काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै आरोपीहरूलाई अनुसन्धानका लागि थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको छ ।
जिल्ला अदालत काठमाण्डौले आइतवार नक्कली शरणार्थी प्रकरणका आरोपीहरूलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाण्डौलाई अनुमति दिएको हो ।
यसअघि लिएको अनुमति हिजो शनिवार सकिएको थियो । हिजो शनिवार परेकोले जिल्ला अदालत काठमाण्डौले हिजोदेखि लागू हुने गरी थप ३ दिन समय दिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्व सभासद आङटावा शेर्पालगायत १६ जना पक्राउ परेका छन् ।
गिरोहले नक्कली भुटानी शरणार्थी बनाएर ८७५ जनालाई अमेरिका पठाउने गरी सरकारी कागजातमा नाम थपेको पाइएको प्रहरीले जनाएको छ ।


