साँकेतिक तस्बिर
काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरी फरार भएका १ जना युवकलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा रोल्पा सुनछहरी गाउँपालिका–६ फगाम बस्ने ३९ वर्षीय गर्भे विक भएको प्रहरीले पुष्टी गरेको हो ।
गर्भेले आफ्नै २६ वर्षीया श्रीमती केशु विकको हत्या गरी फरार रहेका थिए । २०७९ फागुन २० गते दिउँसो गर्भेले श्रीमतीको हत्या गरी कपिलबस्तु शिबराज नगरपालिका–५ चन्द्रौटास्थित प्रयोगमा नआएको रिफ्रेस सेन्टर भवनको सेफ्टी ट्याङकीमा फाली फरार रहेको प्रहरीले जानकारी दिएको हो ।
गर्भेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले खोजी गर्ने क्रममा काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० स्थित सतुंगलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कानूनी कारवाहीको लागि वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलबस्तु चलान गरिएको पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन जनाएको छ ।


