काठमाडौँ । मन्त्रिपरिषदलाई पूर्णता दिन सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।
सरकारबाट एमाले र राप्रपा बाहिरिएपछि रिक्त रहेका १६ मन्त्रालयलाई पूर्णता दिनेबारे निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक राखेका हुन् ।
बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने उद्देश्यका साथ बैठक बोलाइएको एक नेताले जानकारी दिए । दाहालले कांग्रेसलाई ८, माओवादीलाई ५, एकीकृत समाजवादी र जसपालाई २, जनमत, नागरिक उन्मुक्तिलाई १ मन्त्रालय पाउने गरी बाँडफाँडको प्रस्ताव गरेका छन् ।
संख्यासँगै मन्त्रालयहरुसमेत टुंग्याउनुपर्ने भएकाले बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
विशेष गरी जनतासँग प्रत्यक्ष जोडिएका र विकास मन्त्रालयहरुमा सबै दलको दाबी भएपछि मिलाउन गठबन्धनलाई सकस परेको छ ।
बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमबारे पनि छलफल हुने भएको छ ।


