काठमाडौँ । देशैभर रिक्त रहेका क्षेत्रका लागि बैशाख १० गते हुने उपनिर्वाचनको लागी दल दर्ता आजबाट सुरु हुँदैछ ।
उपनिर्वाचनको लागि आजबाट सुरु हुने दल दर्ता चैत १२ गतेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले दल दर्ताका लागि राजनीतिक दलहरूलाई आह्वान गरिसकेको छ । चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुन लागेको हो ।
तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपति निर्वाचित भएसँगै सांसद पदबाट राजीनामा दिएका थिए ।
बारा क्षेत्र नम्बर २ मा निर्वाचित भएका रामसहाय प्रसाद यादव चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएपछि उनले सांसद र पार्टीबाट राजीनामा दिएका छन् ।
त्यस्तैगरी, चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने निर्वाचित भएका थिए । नागरिकतासम्बन्धी मुद्दामा उनको सांसद पद गुमेको थियो ।
आयोगले रिक्त रहेका तीनवटै क्षेत्रमा एकैचोटि निर्वाचन गर्ने जनाएको छ ।


