काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि दलहरु बिच आज निर्णायक छलफल हुने भएको छ । विभिन्न दलसँग छलफल गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज सबै दलहरुसँग निर्णायक छलफल गरेर उम्मेदवार टुंगो लगाउने तयारी गरेका हुन् ।
राष्ट्रपति पदका लागि निर्णायक मत भएको नेकपा माओवादी केन्द्र तथा त्यसको अध्यक्षसमेत रहेका प्रचण्ड पछिल्लो समय आफैँ सक्रिय हुदै गएका छन । उनले हिजो मात्रै पनि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुसँग संयुक्त तथा एक्लाएक्लै छलफल गरेका थिए ।
छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन तीनै दल सकारात्मक भएका छन् ।
प्रचण्डले बुधबार कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । उनले बिहीबार नै पुरानो गठबन्धनसँग संयुक्त बैठक बस्ने तयारी गरेको भएता पनि समय नपुगेका कारण आज बिहान ८ बजे दलहरुसँग संयुक्त छलफल गर्ने तयारीमा प्रचण्ड जुटेका हुन् ।
प्रचण्डले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्ने तयारी गरेका छन् । एमालेले भने राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउन भोलि बिहान सचिवालय बैठक बोलाएको छ ।त्यसअघि ओलीले आज पार्टीका शीर्ष नेताहरुसँग अनौपचारिक छलफलको तयारी गरेका छन् ।
कांग्रेसले पनि भोलि बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर छलफल गर्ने तयारी गरेको छ । कार्य सम्पादन समितिको बैठक हिजो बस्ने भनिए पनि बस्न सकेको थिएन ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि कार्य सम्पादन समितिको बैठक बोलाएको छ । आज बस्ने बैठकमा राष्ट्रपति चुनावको रणनीति तय गरिने छ ।
भोलि राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आजको बैठकमा राष्ट्रपतिको समीकरणबारे निर्णय लिइने छ ।
२५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि भोलि उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।


