फाईल तस्बिर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीबारे अनुसन्धान थालिएको छ ।पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध युवराज सफलले प्रहरीमा दिएको जाहेरी लिन नमानेता पनि प्रहरीले अहिले यसबारे अनुसन्धान थालेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार सफलले दिएको जाहेरीलाई समेत राखेर अनुसन्धान थालिएको हो ।
माघ १७ गते लामिछानेविरुद्ध जाहेरी दिन जाँदा अदालतको आदेशको पूर्णपाठ नआएको भन्दै प्रहरीले लामिछाने बिरुद्वको मुद्वा दर्ता गर्न मानेको थिएन ।
प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि उनले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा निवेदन पनि दिएका थिए । उनी सरकारी वकिलसम्म पुगेपछि प्रहरीले अनुसन्धान थालेको हो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले माघ १३ गते लामिछानेसँग नेपाली नागरिकताको प्रमाण पत्र नभएको ठहर गरेसँगै उनले सांसद्, मन्त्री र पार्टी सभापति पद गुमेको थियो ।
नयाँ नागरिकता प्राप्त गरेपछि भने लामिछाने पुनः पार्टी सभापति चयन थिए ।
२०१४ फेब्रुअरी २१ मा लामिछानेले अमेरिकी नागरिकता लिएका थिए । त्यसको ३ वर्षपछि पारिवारिक भिसामा नेपाल आएका उनले नेपालमा कार्य अनुमति लिएर एक टेलिभिजन च्यानलमा कार्यक्रम चलाएका थिए ।


