काठमाडाैँ । मानव अधिकार तथा शान्ति समाजले फागुन १ गते ‘जनयुद्ध दिवस’का नाममा सार्वजनिक बिदा दिने निर्णयप्रति गम्भीर आपत्ति जनाएकाे छ ।
बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७९ माघ २४ को बैठकले (त्यसभन्दा अघि कर्णाली प्रदेश सरकारले पनि) जनयुद्ध दिवसको अवसरमा भन्दै २०७९ फागुन १ गते सोमबारका दिन बागमती प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेकाे थियाे ।
यो विवादास्पद निर्णय लोकतन्त्र र अहिंसाका सार्वभौम मान्यताको प्रतिकूल छ भन्ने शान्ति समाजको धारणा रहेको छ ।
यसैगरी समाजले माघ २७ गते काठमाडाैँमा राष्ट्रपति विद्यादेवी भण्डारीको आवागमनको सन्दर्भलाई जोडेर सडकमा निस्किएको भन्दै चिकित्सक कुट्ने प्रहरी कृत्यको निन्दासमेत गरेकाे छ ।
राजतन्त्र उन्मुलन भइसकेपछि पनि त्यसैको अवशेषका रूपमा नागरिकलाई सास्ती दिनेगरी कायम रहेको कथित “सवारी” प्रक्रिया लोकतान्त्रिक गणतन्त्रको मर्म विपरीत भएकाे समाजले विज्ञप्तिमा उल्लेख गरेकाे छ ।




















