गोरखा । नवनियुक्त मुख्यमन्त्री कमल शाहले आज मन्त्रिपरिषद् पनि विस्तार गरेका छन् । आफूले पद तथा गोपनीयताको शपथ लिएसँगै उनले २ जना मन्त्री समावेश गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
कांग्रेसका प्रकाश देउवा भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीबाट नरेश शाही आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । मन्त्रीहरूले पनि शुक्रबार नै शपथ लिएका छन् ।
एमाले नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकारले विश्वासको मत लिन असफल भएपछि सरकार ढलेको थियो । त्यसलगत्तै कांग्रेसका शाह सभाको सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
कांग्रेसको १९ सिट छ भने सरकारमा सहभागी बनेको नेकपा एसको ४ सिट छ । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि यो गठबन्धनलाई अझै ४ सिट अपुग छ । मुख्यमन्त्री शाहले पनि अब ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने हुन्छ ।


