काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट हराएका मध्ये २८८ थान मोटरसाइकल सम्वन्धीत सवारी धनीलाई बुझाइएको छ । चोरी भएका मध्ये ३१४ थान मोटरसाइकल नियन्त्रणमा लिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिलेसम्म उक्त संख्याको सवारी सम्बन्धीतलाई हस्तान्तरण गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार साउन यता माघ २५ गतेसम्म उक्त संख्याको मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण गरिएको बताए । कार्यालयले हिजो (बुधबार) मात्रै पनि २० थान मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण गरेको छ । बुधबार १३ वटा मोटरसाइकल र ७ वटा स्कुटर सम्बन्धितलाई हस्तान्तरण गरिएको प्रवक्ता भट्टले जानकारी दिए ।
दुई पाङ्ग्रे सवारी साधन हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका निवेदनको आधारमा कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हराएका मध्ये हालसम्म ३१४ वटा सवारी साधन फेला परेको र अन्यको सवारी धनीलाई प्रमाण लिएर बुझन आउन भनिएको कार्यालयले जानकारी दिएको छ ।
यो आर्थिक बर्षको साउनदेखि दुई पाङ्ग्रे सवारी साधन हराएको भनि कार्यालयमा ९९७ जनाले निवेदन दिएका थिए । प्राप्त निवेदनको आधारमा चोरी भएका सवारी साधन ट्राफिक प्रहरीले खोजी गर्ने क्रममा ३१४ थान मात्र फेला पारेको हो ।
जसमध्ये साउनमा ७३ थान, भदौमा ४० थान, असोजमा ३० थान, कात्तिकमा १४ थान, मंसिरमा ३७ थान र पुसमा ५१ थान सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइएको कार्यालयले जानकारी दिएको छ । साथै माघ महिनाको २५ गतेसम्म ४३ थान सवारी साधन सम्बन्धित धनीलाई प्रहरीले हस्तान्तरण गरेको छ ।
साथै यस आर्थिक वर्षमा २४ थान चोरीका मोटरसाइकल सहित पक्राउ परेका २६ जनालाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि विभिन्न प्रहरी वृत्तहरूमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भट्टले हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि स्वयं सवारी धनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको प्रयोग गर्न अनुरोध समेत गरेका छन् ।




















